नक्कली काण्डमा सक्कलीहरु फन्दामा: काण्ड नयाँ मोडमा , ओली विवादमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डले नेपालको राजनीति तातेको छ । केही वर्षअघि देखि नै खेलिएको उक्त धन्दामा उच्च पदस्थ राजनीतिकर्मीहरु तथा कर्मचारीहरु संलग्न पाइएपछि त्यसको वास्तविकता उजागर गर्ने कार्यमा नेपाल प्रहरी लागेको छ । पूर्वगृहमन्त्रीदेखि अन्य पूर्वमन्त्रीहरुसमेत यो काण्डमा जोडिन आएपछि अहिले नेपालमा ठूला माछाहरुलाई जालमा पार्न थालिएको छ । खासगरी वहालवाला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा ठूला माछाहरु पक्राउ पर्न थालेपछि ‘लहरो तान्दा पहरो गर्जियो’ भन्ने नेपाली उखान अहिले चरितार्थ हुन पुगेको छ ।
पूर्व उपप्रधानसहितको गृहमन्त्री रहेका बालकृष्ण खाणलाई बुधबार प्रहरीले पक्राउ गरेपछि नक्कली काण्डका सक्कली अनुहारहरु खुल्दै जाने भनी चर्चा चल्न थालेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाणको पक्राउसँगै यो काण्डमा मुछिएका सबैजनका कानूनको फन्दामा आउने कुरामा जनतामा आशा जागेको छ । पछिल्लो समय एकपछि अर्को गर्दै उक्त काण्डको पर्दाफास हुँदै गएको छ । यो काण्डमा दाम लिएको भनी नाम जोडिएका पूर्वउपप्रधानमन्त्री एवम् हाल नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी फरार भएका छन् । उनले आफू विरामी रहेको भन्ने व्यहोराको पत्र संसद सचिवालयमा पठाए पनि उनी पक्राउ पर्ने डरले भागेको भनी समाचार स्रोतले दाबी गरेको छ ।
यसैगरी यो काण्डमा पूर्वउपप्रधानमन्त्री रामबहादुर थापाको समेत नाम जोडिएर आउने गरेको छ । खासगरी उनका छोरा रितेश थापाको संलग्नताको विषय उठेको मात्र नभई उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको अवस्थामा रितेश फरार रहेका छन् । रितेशले आफ्ना पिता रामबहादुर थापाको संरक्षणमा यो काण्डमा राम्रै रकम हजम गरेको तथा त्यसमा रामबहादुर थापाको समेत संलग्नता रहेको भनी उनलाई समेत पक्राउ गर्ने तयारी भैरहेको भनी समाचार स्रोतले ‘नयाँ विमर्श’ लाई जानकारी गरायो ।
रामबहादुर थापा गृहमन्त्री भएका बेला उनको सुरक्षा सल्लाहकारका रुपमा रहेका डा.इन्द्रजित राई यो काण्डमा फसिसकेको अवस्था छ । यो काण्डका मुख्य अभियुक्तको श्रेणीमा रहेका राईले राम्रै रकम लिएको तथा विभिन्न कागजातहरु कीर्ते समेत गरेको आरोप उनीमाथि लागेको छ ।
उता, यो काण्डमा पूर्वगृहसचिव रहेका जो हाल पनि सचिवकै हैसियतमा बहालवाला रहेका टेकनारायण पाण्डेले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको भेउ पाउनासाथ काभ्रेपलाञ्चोकतिर भाग्ने तयारीमा रहेका पाण्डेलाई प्रहरीले पिछा गरिरहेको जानकारी हुनासाथ उनी फर्किएर आफैं प्रहरी समक्ष आत्मसमर्पण गर्न आइपुगेका थिए । अहिले उनी पनि प्रहरी हिरासतमा बसी प्रहरीको अनुसन्धानको क्रममा रहेका छन् ।
उता, यो काण्डमा मुछिएका विभिन्न व्यक्तिहरुले आफूहरुले उच्च राजनीतिक नेतृत्व तथा प्रशासनिक नेतृत्वका कारण पैसाको लोभमा यस्तो हर्कत गरेको बताएका छन् । उनीहरुका विरुद्धमा प्रहरीमा ठगीको उजुरी पर्ने क्रम बढेपछि उनीहरु पक्राउ पर्न थालेका थिए । सानु भण्डारी, गणेशबहादुर के.सी., सागर रार्इृ, इन्द्रजित राई, सन्दीप रायमाझी (टोेपबहादुर रायमाझीका छोरा) लगायतलाई प्रहरी पक्राउ गरी अनुसन्धान थालेपछि उनीहरुले वयानका क्रममा व्यक्त गरेका कुरा तथा लेनदेनका विषयमा भेटिएका कागजातहरुलाई आधार बनाएर प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा टोपबहादुर रायमाझी, बालकृष्ण खाण लगायतको नाम आएको हो । सोही कारण यो विषयलाई लिएर नेपालको राजनीतिक नेतृत्व पनि सोचनीय अवस्थामा पुगेको बताइएको छ । शुरुमा टोपबहादुरको नाम आएको अवस्थामा उनलाई पक्राउ नगर्न भनी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका थिए । उनले रायमाझी निर्दोष रहेको दाबी गर्दै उनी नलुक्ने बताएका थिए । ओलीको अभिव्यक्ति विपरित रायमाझी लुक्न पुगेका छन् ।
ओलीको भनाइमात्र होइन कि तीन दिनमा तीन पल्ट प्रधानमन्त्री दाहाललाई भेटी उनले रायमाझीका विरुद्ध कुनै कारबाही प्रक्रिया अघि नबढाउन भनी दबाब दिएको भन्ने कुरा बाहिर आउनासाथ उनी विवादमा परेका छन् । त्यसमाथि रायमाझी लुक्न पुगेको घटनाले ओलीको बोलीमा लगाम लगाइदियो । ओलीले रायमाझीलाई बचाउने प्रयास गरेको अवस्थामा उनी नेपाली जनताबाट गिर्न पुगे । एमालेले पनि रायमाझीलाई संस्थागत रुपमा अनुसन्धानमा सघाउन भनी आग्रह गरी उनलाई तत्कालका लागि सबै पदबाट निलम्वनमा राख्ने निर्णय गरेको छ ।
उता, एमालेका नेताहरुमात्र नभई कांग्रेसका नेता बालकृष्ण खाणसमेत पक्राउ परेको अवस्थामा यो काण्ड झनै नयाँ मोडमा आइपुगेको छ । खाण पक्राउ परेपछि कांग्रेसका नेतृहरु आरजू राणा देउवा तथा खाणकी पत्नी मञ्जू खाणको विषयलाई लिएर विभिन्न किसिमका प्रचारबाजी भैरहेका छन् । यो काण्डमा आरजू र मञ्जूको समेत संलग्ना रहेको भन्ने कुरा विभिन्न सञ्चारमाध्यममा आइरहेका छन् । यो कुराको उनीहरुले प्रतिवाद गर्दै आए पनि विश्वास गर्ने अवस्था नरहेको भनी टिप्पणी हुन थालेको छ ।
यो काण्डमा पूर्वमाओवादी भै हाल एमालेको नेतृत्वमा रहेका टोपबहादुर रायमाझी र रामबहादुर थापा विवादमा परेका छन् । पूर्वमाओवादी रहेका उनीहरु विवादमा परे पनि माओवादी केन्द्रका उच्च स्तरका नेताहरु हालसम्म यो काण्डमा मुछिएका पाइएको छैन । त्यसैले पनि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले यो काण्डलाई जसरी पनि अघि बढाएर उनीहरुलाई नांगेझार पार्ने चर्चा छ । यो काण्डमा हालसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको संलग्नताको विषय बाहिर आएको छैन जबकि यो काण्ड गृहमन्त्रायलमा मच्चिँदा देउवा र ओली प्रधानमन्त्री रहेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *