राजेशबाबुलाई अस्ट्रियाका राष्ट्रपतिबाट विभूषण

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपालकालागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित भएका छन् । नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इनसिल्भर’ पाएका हुन् । यो अस्ट्रिया राज्यले प्रदान गर्ने सम्मान हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका उपप्रधानतथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपालकालागि गणतन्त्र अस्ट्रियाका राजदूत क्याथरिना विजरद्वारा श्रेष्ठलाई विभूषण हस्तान्तरण गरिएको हो । यसअघि सन् २०१३ मा नेपालकालागि अस्ट्रियाका तत्कालीन अवैतनिक बाणिज्यदूत स्व.लक्ष्मणबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारले ‘डेकोरेसन अफ अनर इनगोल्ड’ बाट विभूषित गरेको थियो ।
सम्मान हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्व श्रेष्ठले भौगोलिक अवस्थिति, हिमालय र अतिथि सत्कारको परम्परामा नेपाल र अस्ट्रियाबीच समानता रहे पनि आर्थिक विकासको सन्दर्भमा अस्ट्रियाले ठूलो प्रगति हासिल गरेको बताए । आर्थिक समृद्धि हासिल गर्ने सन्दर्भमा नेपालले अस्ट्रियाबाट धेरै कुरा सिक्न सक्ने पनि उनले बताए । पर्यटन, सुरुङ र हिमालीपूर्वाधार, जलविद्युत् तथा स्वच्छ ऊर्जा जस्ता क्षेत्रमा अस्ट्रियाबाट नेपालले धेरै अनुभव लिन सक्ने उनको धारणा छ ।
सो अवसरमा श्रेष्ठले मित्रराष्ट्र अस्ट्रियाले नेपाललाई गरेको सहयोग, विशेषगरी सांस्कृतिक सम्पदाको पुनःनिर्माण र संरक्षणको क्षेत्रमा गरेको सहयोगको पनि स्मरण गरे । ‘केशरमहलस्थित स्वप्न बगैंचा र पाटन संग्रहालययसका ठोस उदाहरण हुन्,’ श्रेष्ठले भने, ‘कोभिड–१९ महामारीका बेला पनि मित्रराष्ट्र अस्ट्रियाले नेपाललाई उदारतापूर्वक सहयोग गरेको छ ।’ पछिल्लो सहायतामा अस्ट्रियाले नेपाललाई कोभिड–१९ को चार लाख थान फाइजर खोप उपलब्ध गराएको छ । अस्ट्रियाले उपलब्ध गराएको खोप युरोपेली संघमार्फत संयुक्त राष्ट्र संघको कोभ्याक्सअन्तर्गत नेपाललाई प्राप्त भएको हो ।
नेपाल र अस्ट्रियाबीच ६४ वर्ष पुरानो सुमधुर दौत्य सम्बन्धको इतिहास छ । आगामी दिनमा यो सम्बन्ध राजनीतिक, आर्थिक, सामाजिक र जनस्तरमा अझ बलियो बन्दै जाने विश्वास पनि उनले व्यक्त गरे ।
कार्यक्रममा नेपालकालागि अस्ट्रियाका राजदूत विजरले सन् २००७ मा लक्ष्मणबाबु श्रेष्ठ नेपालकालागि अस्ट्रियाका अवैतनिक दूत नियुक्त भएपछि अस्ट्रियाले उनबाट र पछि हालका अवैतनिक दूतबाट पाएको सहयोगको प्रशंसा गरे । कोभिड–१९ महामारीका बेला अवैतनिक दूत श्रेष्ठले नेपालमा रहेका अस्ट्रियाका नागरिकलाई गरेको सहयोग अविस्मरणीय रहने पनि उनले बताए । श्रेष्ठ मनकामना दर्शन प्रा.लि.का प्रबन्ध निर्देशक हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *