श्रममन्त्रीले भत्काए वैदेशिक रोजगारको विभागको सेटिङ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट श्रम तथा रोजगार मन्त्री बनेका शतरसिंह भण्डारी ‘एक्सन’ मा उत्रिएका छन् । कर्मचारीहरुको लागि आकर्षण मानिने बैदेशिक रोजगार विभाग तथा काठमाडौं कार्यालय ताहचलमा अखडा जमाएर बसेका कर्मचारीहरुको ‘सेटिङ’ उनले भत्काएका हुन् ।
श्रममन्त्री भण्डारीले विभागका महानिर्देशक उमाकान्त आचार्यलाई नौ महिनामै मन्त्रालय सरुवा गरेका छन् । विभागको महानिर्देशकमा मदन दाहाल सरुवा भएका छन् । दाहालले राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा कर छली गर्ने व्यापारी र तस्करहरुको ‘निद हराम’ बनाएका थिए । सोही कारण तीन महिनामै उनको सरुवा भएको थियो ।
श्रम मन्त्रालयमा पनि सरुवा भएको तीन महिनापछि मात्र वैदेशिक रोजगार विभागमा पठाइएको मन्त्रालय श्रोतले बताएको छ । नयाँ महानिर्देशक दाहालमा मुलुकका लागि सुशासन र सम्बृद्धिको पक्षमा काम गर्ने जोश, जाँगर तथा हुटहुटी रहेको जानकारहरुले बताएका छन् ।
यता, मन्त्रालयमा सरुवा भएका आचार्यलाई कर्मचारीहरुले नै नटेर्ने गरेको कारण परिणाममुखी काम देखाउन सकेका थिएनन् । सरुवा भएकाहरुमा वैदेशिक रोजगार विभागका उपसचिव कृष्णप्रसाद भुसाल र अधिकृत प्रदीप ढकाल रहेका छन् । ढकालले विगत लामो समयदेखि चलखेल गर्दै आएका थिए । उनीलाई विभाग र काठमाडौं कार्यालय ताहचलमा ‘डन’ मानिने गरेको समाचार श्रोतले बताएको छ ।
यसैगरी वैदेशिक रोजगार कार्यालय ताहचलका रैथाने एवं आर्थिक चलखेलका माहिर खेलाडी बसन्तबहादुर बोहरा पनि सरुवामा परेका छन् । बोहोरालाई मन्त्रीको नाम बेची घुस लिने गरेको आरोप छ । यसरी वैदेशिक रोजगारमा साउदी, कतार र मलेसिया जाने कामदारहरु ठगिने क्रम बढेपछि मन्त्री भण्डारीले ‘सेटिङ’ भत्काएको चर्चा छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *