एमालेमा रहेका ‘माओवादी’ कमजोर

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेकपा (एमाले) मा अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको स्तुतिगान गाउन सक्नेले मात्र स्थान र जिम्मेदारी पाउने अवस्था कायमै रहेको छ । तात्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकता भई पुनः विघटनको अवस्थामा पुग्दा पूर्व माओवादीको रुपमा एमालेमै रहेका नेताहरुको अहिले झनै रुवाबासीको अवस्था आएको छ । एमालेमा समाहित भएका माओवादी धारका नेताहरू पाखा लाग्न थालेका छन् ।
एमालेको सचिव बनेका टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले निलम्बन गरेको छ । यसैगरी स्थायी समिति सदस्यका रुपमा रहेका प्रभु साह अलग भई आफ्नो नेतृत्वमा पार्टी गठन गरी सकेका छन् । अर्का स्थायी समिति सदस्य मणि थापा पनि ‘बिदा बस्ने’ भन्दै बसेका छन् । उनी विप्लव नेतृत्वको नेकपामा जाने तयारीमा रहेको बताइएको छ ।
उपाध्यक्ष रामबहादुर थापा पनि भूटानी शरणार्थी प्रकरणमा विवादित अवस्थामा छन् । उनलाई कूटनीतिक सम्बन्ध तथा राष्ट्रिय सुरक्षा र कृषि तथा उद्यमशीलता सम्बन्धी विभागहरू हेर्ने जिम्मेदारी एमालेले दिए पनि त्यसलाई खासै महत्वपूर्ण विभाग मानिँदैन ।
माओवादी पृष्ठभूमिका सचिव लेखराज भट्टलाई कर्णाली प्रदेशको इन्चार्ज बनाइएको छ । उनलाई माओवादी केन्द्रमा फर्काउन सुदूरपश्चिमका नेताहरू सक्रिय भएकाले उनी भाग्ने भयमा रहेका ओलीले उनलाई भने राम्रै जिम्मेदारी दिएको बताइएको छ ।
माओवादी धारका नेताहरुमध्ये करिब एक दर्जनलाई मात्र एमालेले संघीय निर्वाचनमा उम्मेदवार बनाएको थियो । त्यसरी उम्मेदवार बनेकामध्ये रायमाझी र ज्वालाकुमारी साहले मात्रै चुनाव जितेका थिए । माओवादी धारबाट एमालेमा २९ जना मात्रै केन्द्रीय सदस्य बाँकी रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *