काँग्रेसमा न नीति, न थिति भातृ संगठन भद्रगोल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसको मेरुदण्ड मानिने भातृ संस्था र शुभेच्छुक संस्था विधान अनुसार समयमै अधिवेशन नहुँदा भद्रगोल बन्न पुगेको छ । तै पनि जनताले माया गर्दा गत २०७९ को स्थानीय निर्वाचन र संघको निर्वाचनमा काँग्रेस ठूलो दल बन्न पुगेको छ ।
काँग्रेसको लठमुङ्ग्रे ताल देखेर नयाँ पुस्ता नयाँ दलतर्फ आकर्षित भएका छन् । काँग्रेसमा आशा लाग्दो र भरोसायोग्य नेतृत्वको अभाव हुँदा पार्टीभित्र संकट आउन सक्ने खतरा बढेको छ । हाल कांग्रेसमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग महासंघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर समाज र नेपाल थारु संघ र लोकतान्त्रिक खेलकुद संघ गरी एक दर्जन भातृ संगठनको महाधिवेशन हुन सकेको छैन ।
पार्टीको १४औं महाधिवेशन सम्पन्न भएको डेढ वर्ष वितिसक्दा पनि कोषाध्यक्ष र केन्द्रीय सदस्यले पूर्णता पाउन सकेको छैन । अधिवेशन सम्पन्न भएको छ महिना भित्र गर्नुपर्ने नीति महाधिवेशन कुनाकुनामा फस्यो थाहा छैन । पार्टी सभापति शेरबहादुर देउवालाई बुढ्यौली लागेर जाँगर सेलाएपछि सम्पूर्ण कार्यहरु ठप्प भएको काँग्रेसका जानकारहरुले बताएका छन् ।
काँग्रेसको भातृ संगठनलाई जुझारु, सशक्त र चलायमान बनाउने जिम्मेवारी पाएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जनतासँग जोडिने र संगठन एवं सदस्यता बनाउनेतिर भन्दा सभापति देउवासँग वाकयुद्धमा केन्द्रित बनेका छन् । काँग्रेसभित्रको सबै समस्या मूल नेतृत्वकै कारण भएको भन्दै नेतृत्व परिवर्तनमा जुटेका छन् ।
संस्थापनइतर पक्षका नेता शेखर कोइराला महामन्त्रीद्वयलाई देउवासँग भिडाएर रमिते बनिरहेका छन् जबकि अबको १५औं महाधिवेशनमा आफू सभापतिमा नउठ्ने उद्घोष देउवाले गरिसकेका छन् । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र देउवाले नलड्ने बताएपछि नेतृत्व सिधै युवाको हातमा पुग्ने निश्चित छ । दोश्रो पुस्तालाई काँग्रेसले विश्वास नगर्ने कुरा १४औं महाधिवेशनमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवासँग गर्धन जोडेपछि स्पष्ट भएकाले अब व्यक्तिलाई गाली गर्नुको साटो जनतासँग काँधमा काँध मिलाए कसो होला ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *