सरकार परिवर्तनको चर्चा, कोइराला प्रम बन्ने

Nayabimarsha (Weekly Newspaper from Nepal)

कठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेर नयाँ समीकरण बन्ने चर्चा व्यापक रुपमा चलेको छ । बजेट पास नहुने सुँइको पाएपछि प्रधानमन्त्री दाहालले हतार हतारमा ५४ सिटको समाजवादी मोर्चा गठन गरेको राजनीतिक वृत्तमा तरंग फैलिएको छ ।
बजेटको विपक्षमा नेकपा एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनमतको ६ र स्वतन्त्र पार्टीको ३ गरी जम्मा १२२ मत देखिएको छ । बजेटको विपक्षमा गठबन्धन दल नेपाली काँग्रेस र नेकपा (नेपाल समाजवादी) बाट पनि मत क्रस हुने बताइएको छ । यस्तो अवस्थामा बजेट पास नहुने र सरकार ढल्ने संकेत देखा परेको हो ।
यसका लागि स्वास्थ्य उपचार गर्न राजनीतिक समीकरण बदल्नका लागि काँग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर गएको राजनीति वृत्तमा चर्चा चलेको छ । पेटको समस्याको फलोअप जाँचका लागि सिंगापुर गएका देउवाले भारतीय जासुसी संस्था ‘र–अ’ का प्रतिनिधिसँग भेट गरेको भारतीय संचारमाध्यमले बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकार ढाल्न एमाले सकृय रुपमा लागि परेको छ । एउटा मोर्चामा रहेर फेरि नेकपाका महासचिवसहित असार ४ गते गठन गरिएको समाजवादी मोर्चा नेपालको घोषणाले काँग्रेस पनि सशंकित बनेको छ । काँग्रेसलाई बार्गेनिङ गर्न र एमालेलाई तर्साउन समाजवादी मोर्चा गठन भएपछि काँग्रेस र एमाले मिल्नुपर्ने पक्षमा छन् । देउवा सिंगापुरबाट फर्किएपछि तत्काल सत्ता सहकार्यका लागि शेखर कोइरालालाई प्रधानमन्त्री बनाएर मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउने तयारी भैरहेको चर्चा छ ।
शेखरलाई प्रधानमन्त्री बनाउँदा काँग्रेसमा पुस्तान्तरणको प्रकृया पनि शुरु हुने र महामन्त्री लगायतका युवा नेताहरुको पनि साथ र समर्थन रहने बताइएको छ । काँग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न एमाले र रास्वपा पार्टी पनि मोटामोटी सहमत भएको समाचार श्रोतले बताएको छ । यसो गर्दा काँग्रेस ८८, एमाले ७८ र रास्वपा २१ गरी कुल १८७ सिटको बहुमतको सरकार बन्नेछ र २०८४ सम्म कायम रहनेछ ।
यस्तो सरकारमा जनमत, लोसपा र उन्मुक्ति पार्टी पनि सामेल हुँदा सरकारलाई इन्द्रको बाउ चन्द्रले पनि हल्लाउन नसक्ने जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *