वामदेवलाई एमालेको अध्यक्ष बन्ने रहर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ‘जाग्यो रहर पापी शहरको, छैन सिमाना आफ्नै रहरको’ भनेझैं वामदेव गौतमलाई पनि नेकपा (एमाले) को अध्यक्ष र प्रधानमन्त्री बन्ने रहर जागेको छ । एकता राष्ट्रिय अभियान नामको पसल खोलेर बसेका नेता गौतम बोर्ड झुण्ड्याएको पसल नचलेपछि एमालेमै फर्केर विहान उठेदेखि राती सुत्ने बेलासम्म काम गर्ने जिम्मेवारी एमाले अध्यक्ष खड्गप्रसाद ओलीसँग मागेका छन् ।
मिठाको लोभले जुठो खाएझै नेकपा एमालेले ७० वर्षे उमेर हदको प्रावधान हटाएसँगै एमालेमा फर्कने भएका हुन् । यसअघि गौतम माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाललगायतका दलहरु मिलेर खोलेको समाजवादी मोर्चामा जाने व्यापक चर्चा चलेको थियो । समाजवादी मोर्चामा भन्दा नेकपा एमालेमै फर्केपछि आफ्नो सपना पूरा हुने ठानेर एमालेमा श्रीमती तुलसा थापासहित एकता राष्ट्रिय अभियानलाई समाहित गर्ने भएका छन् ।
गौतम नेकपा (माओवादी केन्द्र) सँग मिलेर बनेको नेकपामा २०७७ कार्तिकदेखि विवाद बढ्दै गएर विभाजनसम्म पुग्दा ओलीविरुद्ध आक्रामक रुपमा उभिएका थिए । ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मेवारीबाट राजिनामा दिएका पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका थिए ।
तिनै गौतमले अहिले पार्टी सदस्यता नत्यागेको बरु नवीकरण गरेको बताउँदै आफू एमालेमा फर्किएपछि ६० लाख मत ल्याउने उद्घोष समेत गरेका छन् । एमालेमा ओलीपछि अध्यक्ष बन्ने गतिलो व्यक्ति नभएकाले गौतम ठाउँ ओगट्न एमालेमै फर्किएको जानकारहरुले बताएका छन् । आफू प्रधानमन्त्री बने नेता, कर्मचारी, सेना, प्रहरी लगायतको सम्पत्ति छानविन गर्ने बताएका गौतमलाई एमालेको राजनीतिक यात्रा सहज नभएको राजनीतिका ज्योतिषीहरुले बताएका छन् । यसैपनि नेकपा एमालेले ७० वर्षे उमेर हद हटाएपछि युवाहरु अन्य दलतिर आकर्षित भएको चर्चा चलेको छ । एमालेमा बुढाहरुलाई अवसर दिँदा युवाहरु बिच्किने बढी संभावना रहेको समाचार श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *