न्यायाधीश नियुक्तिमा खबरदारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा सक्षमलाई गरिनुपर्ने भन्दै खबरदारी गरिएको छ । आफू अनुकुलका व्यक्तिलाई न्यायाधीश बनाई सक्षमलाई अवसर नदिने कार्य भएमा त्यसको विरुद्धमा आन्दोलन गर्ने ट्रेड युनियनले चेतावानी दिएको हो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामतीले एक विज्ञप्ति जारी गर्दै अरौटे–भरौटेलाई नियुक्ति गर्ने र सक्षम व्यक्तिलाई पाखा लगाउने कार्य गरिएमा आन्दोलन गर्ने चेतावानी दिएको हो ।
संगठनका अध्यक्ष हरि भट्टराई जारी गरेको विज्ञप्तिमा कुनै अनियमिततामा संलग्न नभएका योग्य, सक्षम, इमान्दार, नैतिकवान् न्यायाधीश/अधिकृत र कानून व्यवसायीलाई एकअर्काको मानमर्दन नहुने गरी क्याडरहरुलाई प्राथमिकता दिई न्यायाधीशको नियुक्ति गर्न आग्रह गरिएको छ ।
अरौटे–भरौटे व्यक्तिलाई माथिल्लो पदमा पु¥याउने गरिएमा न्यायपालिकाको संस्थागत मूल्य–मान्यता ध्वस्त हुने कुरा पनि विज्ञप्तिमा उल्लेख छ । स्वार्थपरक तवरले न्यायाधीशको नियुक्ति गरेमा आन्दोलन गर्ने चेतावानी उक्त विज्ञप्तिमा दिइएको छ ।
न्याय परिषद् राजनीतिक भर्तीकेन्द्र र आफन्तलाई जागिर खुवाउने थलोका रुपमा परिणत भएको भन्दै त्यसो नगर्नसमेत चेतावानी पनि दिइएको छ । ‘न्यायपालिका अहिले संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ । न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्न सरोकारवाला सबैको ध्यानाकर्षण भएको अवस्था छ । न्यायपालिकाको स्वतन्त्रतामा अन्तरनिहित विषयमध्ये अदालतका सबै तहमा न्यायाधीशको नियुक्ति विधिसम्मत र पारदर्शी रुपमा हुनु जरुरी हुन्छ ।’ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सर्वोच्च अदालतमा–६, उच्च अदालतमा– ४७ र जिल्ला अदालतमा–४१ जना न्यायाधीशको पद रिक्त रहेको अवस्थामा यो विज्ञप्ति आएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *