रास्वपा पनि उही चालामा : नेतृत्वबीच हानाथाप, पुरानालाई राहत

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ पुराना दलहरुको कार्यशैलीलाई धारे हात लगाउँदै नयाँ दलहरुप्रति आकर्षित हुँदै गरेकाहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको विवाद र अस्वस्थ प्रतिस्पर्धाले खिन्नता दिलाएको छ । खासगरी पछिल्लो समयमा रास्वपा र तराईमा जनमत पार्टीप्रति मतदाता आकर्षित भैरहेको भन्ने कुरालाई ती दलमा देखिएको विवादले उनीहरुलाई समेत पुरानै दलको कोटीमा राख्न थालिएको छ । रास्वपामा नेतृत्वका लागि हानाथाप हुन थालेको छ भने जनमतमा सरकारमा जाने भन्ने विषयले विवाद उत्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा गत उपनिर्वाचनको मुखैमा नेपाली कांग्रेस त्यागेर गएका स्वर्णिम वाग्लेको कारण अहिले उक्त पार्टीमा विवाद देखिन थालेको हो । उपनिर्वाचनमा कांग्रेसले टिकट देला कि भनी आशा गरेर बसेका वाग्लेलाई कांग्रेसले टिकट नदिएपछि उनी रास्वपामा प्रवेश गरेका थिए । उनको प्रवेशले उत्साही बनेको रास्वपाले उनलाई तनहूँ क्षेत्र नं.१ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो ।
त्यसरी वाग्ले उम्मेदवार बनेको अवस्थामा उनीप्रतिको आकर्षणले भन्दा पनि सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्ना उम्मेदवारलाई मत नदिई रास्वपाका उम्मेदवारको पक्षमा मतदान गरिदिंदा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पराजित भएका थिए । कांग्रेसमा कुनै सांगठानिक आधार नभएका वाग्ले कांग्रेसको नेतृत्वलाई रिझाएर विभिन्न पद पाएको अवस्थामा थिए । त्यस्तो बेलामा उनी टिकटको दाबेदार बन्दा कांग्रेसले टिकट दिएको थिएन । आफू एकदमै बौद्धिक रहेको देखाउँदै रास्वपाबाट उम्मेदवार बनेका वाग्लेले आफ्नो विजयलाई आफ्नो व्यक्तिगत विजयको रुपमा लिई अहिले रास्वपामा समेत हैकम जमाउन खोजेको अवस्था छ ।
वाग्लेलाई निर्वाचन जिताउँदा अबको संसदीय निर्वाचनमा रास्वपाले सरकारको नेतृत्व गर्ने हैसियत राख्ने भनी भाषण गर्ने रास्वपाका अध्यक्ष रवि लामिछानेलाई नै किनारा लगाउने खेलमा वाग्ले लागिपरेको बताइएको छ । वाग्लेले आफूलाई निक्कै नै बौद्धिक रहेको भन्दै आफ्नो बौद्धिकताको अगाडि रास्वपामा अन्य कसैको तुलनै नहुने भन्ने ठानेर अब आफू रास्वपाको नेतृत्व नै हत्याउन सक्ने अवस्थामा पुगेको बताउन थालेका छन् । उनले आफूले नेतृत्वको सपना देख्न थालेको भनेपछि लामिछाने भने झसंग हुन पुगेका छन् ।
अहिले लामिछाने र वाग्ले पक्षधरहरुका बीचमा टकराव शुरु भएको बताइन्छ । विभिन्न जिल्लामा त उनीहरुको गुटगत समस्या सतहमा आउन थालेका छन् भने केन्द्रमा समेत गुटको विकास हुन थालेको बताइन्छ । लामिछानेको लोकप्रियताको कारण रास्वपाले सफलता पाएको भन्ने एकातिर देखिएका छन् भने अर्कातिर भावि नेतृत्वका लागि रास्वपामा बौद्धिक नेतृत्व चाहिने भनी वाग्ले पक्षधरहरु देखिन थालेका छन् ।
वाग्लेको आगमनअघि रास्वपामा एकछत्र राज गर्दै आएका लामिछानेलाई अहिले आएर वाग्लेको आगमन गलपासो बन्न थालेको बताइन्छ । उस्तै परे वाग्ले पक्षधरहरुले आपूmलाई किनारामा पु¥याउने भयमा लामिछाने देखिन थालेका छन् । यस्तो हुनुमा पछिल्लो समयमा रास्वपामा प्रवेश गर्नेहरुको संख्या नेकपा (एमाले) र कांग्रेसबाट आउनेहरुको संख्या बढी रहनु रहेको बताइएको छ । यस्तो अवस्थामा उनीहरुले पूर्व कांग्रेस र पूर्व एमालेको गुटको विकास गर्ने जसले लामिछानेलाई विस्थापित गर्ने भयमा लामिछाने रहेका बताइएको छ ।
वाग्लेको विद्धतालाई टक्कर दिनका लागि लामिछानेले अनिलकेशरी शाहलाई आफ्नो दलमा भित्र्याएको चर्चा पनि चलेको छ । त्यसो त आफूलाई बौद्धिक बताउने वाग्लेले संसदमा कुनै चमत्कार देखाउन नसकेको बरु नेपाली सेनाको विषयलाई लिएर विवादित बनेको कुरालाई पनि लामिछाने पक्षधरले उठाएर उनलाई उठ्न नदिने नीति लिएको बताइएको छ । यसैगरी विवेकशील साझाबाट रास्वपामा गएका नेता तथा सांसदहरुले समेत आफ्नो छुट्टै गुट निर्माण गर्न थालेको बताइएको छ ।
यसरी भर्खरै उदाएको रास्वपाको झट्कामा परिरहेका पुराना दलहरुलाई भने त्यो दलमा देखिएको विवादले राहत दिएको चर्चा छ । पुराना दलको कार्यशैलीलाई गाली गर्दै तथा पुराना दलको गुटबन्दीबाट आक्रान्त बनेकाहरुलाई आफ्नो दलमा तान्ने प्रयासमा रहेको रास्वपा जस्ता दलहरुका लागि आन्तरिक विवादले पुराना दलहरुलाई मलजल पुगेको अवस्था छ । पुराना दलहरु नयाँ दलहरुमा पनि उस्तै विवाद रहेको भन्दै ती नयाँ दलमा आकर्षित हुनुपर्ने कुनै कारण नरहेको भन्न थालेका छन् ।
नयाँ दलहरुमा नयाँ सपना देखेर आकर्षित हुन थालेका मतदाता तथा जनता भने उनीहरु पनि उही ड्याङको मूला पो रहेछन् भनी भन्न थालेका छन् । ‘जुन जोगी आए पनि कानै चिरिएको’ भन्ने उखान अहिले रास्वपामा देखिन थालेको छ ।
यसैगरी गत निर्वाचनमा राम्रो उपस्थिति देखाउन सकेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत कुनै पनि खालको आकर्षण देखिन छाडेको छ । राप्रपामा आकर्षण घट्नुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको पुच्छर जस्तो बन्नु रहेको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *