नेपाली कांग्रेसको नयाँ अभियान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली कांग्रेसले ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान सञ्चालन गर्ने भएको छ । नयाँ सदस्य बढाउने लक्ष्य लिएर कांग्रेसले यो अभियान चलाउन लागेको हो ।
यो अभियानमार्फत एक वर्षभित्र पाँच लाखदेखि सात लाख नयाँ सदस्य थप्ने लक्ष्य सहित महामन्त्री गगनकुमार थापाले कार्ययोजना कांग्रेसको केन्द्रीय समितिको बैठकमा राखेका हुन् । मंगलबारबाट शुरु भएको बैठकमा महामन्त्री थापाले २०८० साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म उक्त अभियान सञ्चालन गरिने जानकारी दिए । यसैगरी कांग्रेसले केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिनामात्रै दलको कामबाट छुट्टी दिने प्रस्ताव पनि थापाले कार्ययोजनाको रुपमा पेश गरेका छन् । बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री थापाले केन्द्रीय सदस्यहरुलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश गरेका हुन् । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताहरुले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए ।
उता, कांग्रेसले २२ वटा केन्द्रीय विभाग थप्ने भएको छ । बैठकमा २२ विभाग थप गर्ने प्रस्ताव पेस गरिएको छ । कांग्रेसको विधानअनुसार यसअघि ४८ विभाग राखिएको थियो । त्यसमा २२ थप गरी ७० विभाग पु¥याउन लागिएको हो ।
न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवद्र्धन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग थप्नुपर्ने प्रस्ताव राखिएको हो । यस्तै, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग थप गर्नुपर्ने कुरा पनि उठेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *