काण्डैकाण्डमा मुलुक: गृहमन्त्रीको चर्चा,एमालेमा तनाव

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार

भक्तपुर/ भूपि शेरचन नामक कविले लेखेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो’ भनेर । पछिल्लो समय नेपालमा भएका गतिविधिलाई हेर्ने हो भने नेपाल हल्लैहल्लाको देश भन्दा पनि काण्डैकाण्डको देशमा परिणत भएको छ । एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड मुलुकमा जल्दोबल्दो रुपमा देखिन थालेको छ । पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा नेपाली कांग्रेस पनि सामेल भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ भ्रष्टाचारको फाइल खोल्न भनी अग्रपंक्तिमा देखिँदै आएका छन् । उनले नक्कली भुटानी शरणार्थीको फाइल खोलेको केही समयमै बालुवाटारको ललिता निवास प्रकरणको फाइल फेरि पनि खोल्न पुगेका छन् । यस्तो अवस्थामा सरकारको विरुद्धमा केही मानिसहरु उतारिएको अवस्था छ । यस्तो स्थितिमा खासगरी नेकपा (एमाले) घाइते बाघको अवस्थामा रहेको देखिएको छ । एमालेले आफ्ना कार्यकर्ताहरुलाई उचालेर गृहमन्त्रीलाई बदनाम गराउने चेष्टा गरेको देखिन्छ । यस क्रममा पछिल्लो काण्डको रुपमा एक सय किलो सुनकाण्ड आइपुगेको छ । सुनकाण्डको कुरा आउनासाथ एमालेका नेता कार्यकर्ताहरु सल्वलाउन थालेका छन् ।
पहिले एमालेका तर्फबाट वामदेव गौतम गृहमन्त्री भएका बेलामा नेपालमा सुन तस्करीमा गृहमन्त्रीकै सेटिङ भएको भनी कुख्याति कमाएको अवस्था थियो । सोही आधारमा एमाले अहिलेका गृहमन्त्रीलाई यो सुनकाण्डमा जोडेर बद्नाम गराउन लागिपरेको बताइन्छ । गृहमन्त्री श्रेष्ठको पछाडि हात धोएर एमालेजन लाग्नुमा श्रेष्ठ एमालेका नेताहरुका लागि पछिल्लो चरणमा अभिषाप बनेका छन् ।
जुन जुन फाइल गृहमन्त्रीले खोल्दै गएका छन्, ती सबैमा एमालेका नेताहरु जोडिंदै गएका कारण पनि एमाले गृहमन्त्री श्रेष्ठलाई जसरी पनि पदमुक्त गराउन लागि परेको समाचार स्रोतको दाबी छ । अहिलेको अवस्थामा नक्कली भुटानी शरणार्थी काण्ड र ललिता निवास जग्गा काण्डमा एमालेका नेताहरु प्रत्यक्ष रुपमा फस्ने भएका कारण एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली अत्तालिएको अवस्थामा पुगेका छन् ।
पछिल्लो सुन काण्डमा पनि विवादास्पद व्यापारी दीपक मलहोत्रा विवादमा तानिएका छन् । मलहोत्राको लगानीमा उक्त सुन अवैध रुपमा भित्रिएको तथा उनलाई ओलीको साथ रहने गरेको जस्तो गरी एक तस्वीर (मलहोत्रासँगै ओली रहेको) सहित एक पत्रिकाले समाचार प्रकाशन गरेपछि ओली आक्रामक बनेका छन् । ओलीले उक्त पत्रिका नै माओवादीको रहेको तथा अझ बढी त्यो नारायणकाजी श्रेष्ठप्रति नजिक रहेको भन्ने टिप्पणी ओलीले गरेका छन् ।
त्यसो त श्रेष्ठप्रति ओली यसअघिदेखि नै नकारात्मक रहँदै आएका छन् । त्यसो हुनुमा श्रेष्ठले खोलेका फाइलमा एमालेका नेताहरु तानिने तथा कतिपय अवस्थामा ओलीसमेत प्रत्यक्ष मुछिने संभावना रहेको बताइन्छ । यस्तो अवस्थामा ओली गृहमन्त्री श्रेष्ठलाई जसरी पनि पदमुक्त गराई आफ्नो तथा आफ्नो दलमा आवद्धहरुले गरेका सबैखाले भ्रष्टाचारका काण्डहरुको फाइल नखुलोस् भन्ने चाहन्छन् ।
उता, ओलीको चाहनालाई पूरा गर्न सकि पो हालिन्छ कि भनी एमालेका नेताकार्यकर्ताहरु ओलीको बोलीमा लोली मिलाउन लागि परेका छन् । सुनकाण्डमा गृहमन्त्री श्रेष्ठकै हात रहेको भन्ने जसरी उनको तथा अर्थमन्त्रीको राजीनामा माग गर्दै एमाले उत्रिएको छ । एमालेले उनीहरुको राजीनामा नआएसम्म संसद चल्न नदिने भनी संसद अवरुद्ध गर्ने नीति लिएको छ ।
एमालेले जे नीति लियो त्यही नीतिको पिछलग्गु राप्रपा र रास्वपा हुन्छन् भन्ने सोचका साथ मन्त्रीहरुको राजीनामा माग गरेको बताइएको छ । विगतमा एमालेको पिछलग्गु हुँदा बद्नामी मात्र हात लागेको भन्दै यो विषयमा भने राप्रपा र रास्वपाले एमालेको साथ नलिने नीति लिएपछि एमाले आफ्नो भित्री अभिष्ट पूरा नहुने भन्दै अल्मलिन पुगेको छ । अहिले यो विषय अनुसन्धानको क्रममा रहेकाले रास्वपाले एमालेको नीतिमा साथ नदिने बताइसकेको छ । यही कारणले एमाले तनावमा परेको छ ।
उता, गृहमन्त्री श्रेष्ठ भने एमालेको मागबाट रत्तिभर विचलित नहुने भएका छन् । विगतमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालसम्मको राजीनामा माग गर्दै आफैं पछि हट्दै आएको एमाले यो मामलामा पनि पछि हट्नेमा श्रेष्ठ विश्वस्त रहेको बताइन्छ । एमालेले यो विषयलाई उचालेर आफू विरुद्धको अन्य कुनै काण्डको फाइल नखोलाउन सर्त राख्न सक्ने भने चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *