एक ढिक्का बनाउन चियापान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री शशांक कोइरालाले कांग्रेसमा देखिएका गुटबन्दीको अन्त्यको कामना गर्दै चियापान कार्यक्रम आयोजना गरेका छन् । केन्द्रीय समिति बैठक चलिरहेको अवधिमा विभिन्न गुटहरु सक्रिय रहेको अवस्थामा उनले काठमाडौँको लैनचौरस्थित लैनचौर बैंक्युटमा मंगलबार चियापान कार्यक्रम गरेका हुन् ।
चियापानमा कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शेखर कोइराला, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, परराष्ट्रमन्त्री नारायणप्रसाद (एन.पी.) साउद, मीनेन्द्र रिजाल, विनोद चौधरी लगायतका शीर्षक नेता पनि सहभागी थिए ।
आयोजकका रुपमा रहेका शशांक कोइरालाले भने, ‘कांग्रेस एक भएको खण्डमा काँग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकतावद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएका हौं । पाँच दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो ? त्यो तय गर्नुपर्छ । काँग्रेसको विकल्प अरु छैनन् काँग्रेस नै हो । भविष्य काँग्रेससँग छ । हामी एक भयौँ भने काँग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’
कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेको तथा केही विषयमा तिक्तता छाइरहेको अवस्थामा कांग्रेसका संस्थापक नेता बी.पी.कोइरालाका पुत्र समेत रहेका शशांकले चियापानको आयोजना गरी कांग्रेसजनलाई एक ढिक्का हुनका लागि सन्देश पनि दिएका हुन् । उनको यो कार्यलाई सबैले राम्रो कार्य भनी सकारात्मक रुपमा लिएका बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *