बी.पी.लाई सम्झिँदै साहित्य महोत्वस

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ नेपाली कांग्रेसले कांग्रेसका संस्थापक नेता एवम् साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा साहित्यिक महोत्सव गर्ने भएको छ । यसका लागि सहमहामन्त्री बद्री पाण्डेको नेतृत्वमा ३८ सदस्यीय बी.पी. साहित्य महोत्सव मूल तयारी समिति गठन गरिएको जानकारी कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन् ।
कांग्रेसले भदौ २४, २५ र २६ गते बी.पी. साहित्य महोत्सव सम्पन्न गर्ने उक्त समितिको सदस्यमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, मीनबहादुर विश्वकर्मा, डा. डिला संग्रौला, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य रहेका छन् । यस्तै अब्दुल सत्तार, नैनसिंह महर, राजीव ढुंगाना, दिलमान पाख्रिन, प्रकाश रसाइली स्नेही, रंगमती शाही, हरिशरण नेपाली, प्रा.डा. गोविन्दराज पोख्रेल, नानु बास्तोला, नृपबहादुर बड, विद्यादेवी तिमल्सिना र सीता थपलिया पनि सदस्यमा रहेका छन् । यसैगरी समिति सदस्यमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ र ललितपुर सभापति जीतेन्द्र श्रेष्ठ पनि रहेका कांग्रेसले जनाएको छ ।
अन्य सदस्यहरुमा तीर्थबहादुर श्रेष्ठ, श्रवण मुकारूङ, नवराज लम्साल, डा. रत्नमणि नेपाल, शैलेन्द्र प्रकाश नेपाल, सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तीर्थबहादुर थापा, गोकुल लिम्बू, परशुराम पोखरेल, राजेन्द्र पराजुली र प्रताप पौडेल रहेका जनाइएको छ ।
कांग्रेसका संस्थापक नेता कोइरालाको स्मृतिमा यसअघिका वर्षहरुमा राजनीतिक कार्यक्रमहरु गरिंदै आएकोमा यस वर्ष भने साहित्यिक कार्यक्रम गरिने भएको हो । पहिलो जननिर्वाचित प्रधानमन्त्री रहेका कोइराला नेपाली साहित्यका राम्रो साहित्यकारमा पनि गनिन्छन् । उनका विभिन्न कृतिहरु प्रकाशित छन् भने कतिपय कृतिहरु उनको मृत्युपर्यन्त प्रकाशित रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *