पूर्वमा एमालेको नेतृत्वमा प्रतिस्पर्धा

Nayabimarsha (Weekly Newspaper from Nepal)

विराटनगर/ प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेकपा (एमाले) को कोशी प्रदेशको अधिवेशन नजिकिएको छ । आगामी असोज १२ र १३ गतेका लागि तोकिएको अधिवेशनबाट अध्यक्ष बन्नका लागि तुलसी न्यौपाने, घनश्याम खतिवडा, विनोद ढकाल र टीकाराम चेम्जोङले आपूmलाई अघि सारेका बताइएको छ ।
न्यौपाने प्रदेश अध्यक्ष हुन् । पहिले माधवकुमार नेपाल समूहमा रहेका न्यौपाने २०७८ मा पार्टी विभाजन हुँदा एमालेमै बसेका थिए । उता, ढकाल एमाले केन्द्रीय सदस्य छन् । मोरङ एमालेमा दुई पटक अध्यक्ष रहेका ढकाल लामो समयदेखि पार्टी अध्यक्ष ओली पक्षधर रहँदै आएका छन् । पछिल्लो समय ओलीसँग असन्तुष्ट ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिक रहेको तथा ढकाललाई भण्डारीको साथ रहेको चर्चा चलेको छ ।
घनश्याम खतिवडा पनि प्रदेश अध्यक्षमा दाबी गरिरहेका छन् । एमाले विभाजन अघि माधवकुमार नेपाल समूहमा रहेका खतिवडा एमालेमै बसेका कारण पनि आफू अहिले प्रदेश अध्यक्षका लागि योग्य रहेको दाबी गर्दै हिंडेका बताएको छ । यसैगरी प्रदेश अध्यक्षका दाबेदार चेम्जोङ पूर्व सांसद हुन् । प्रदेश कमिटीको उपाध्यक्ष रहेका चेम्जोङ तत्कालीन एमालेभित्रको अन्तरसंघर्षमा ओली समूहमा थिए ।
प्रदेश अधिवेशनमा पूर्वराष्ट्रपति भण्डारी निकटकाहरुले अलग्गै समूह बनाएर नेतृत्वमा प्रतिस्पर्धा गर्ने परिस्थिति बनेको चर्चा छ । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले एमालेमा एकल राज गर्दै आएको अवस्थामा भण्डारी समर्थकहरुले ओली पक्षधरलाई चुनौती दिने तयारी गरेका हुन् । समाचार स्रोतका अनुसार, भण्डारी समूहको नेतृत्व पूर्वमुख्यमन्त्री शेरधन राईले गरेको तथा उनको तर्फबाट विनोद ढकाललाई अध्यक्षमा अघि सारिएको स्रोतको दाबी छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *