नेपालमा महाकुम्भ मेला

Nayabimarsha (Weekly Newspaper from Nepal)
पिएमणी भट्टराई/चतरा धाम

प्राचीन हरिद्वार चतराधाममा १२ बर्षे पिण्डेश्वर महा कुम्भमेला मंगलबारदेखि शुरुभएको छ । चतरा धामस्थित बराहक्षेत्र न.पा.को वडा नं.१ मा कुम्भमेलाको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।
उक्त समारोहमा राष्ट्रपति पौडेलले विभिन्न जातजाती, धर्म भाषाको संरक्षण तथा धार्मिक पर्यटन समेतको यो कुम्भ मेलाले महत्व राख्ने विचार व्यक्त गरे । कुम्भमेला नेपालकै गौरभ हुँदा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको पहिचान स्थापित हुने उनले धारणा राखे । समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की लगायत प्रदेशका मन्त्रीहरु तथा उच्च प्रशासकहरुको समेत सहभागिता रहेको थियो ।
एक महिनासम्म चल्ने महाकुम्भ धार्मिक मेलामा एक करोडभन्दा बढी भक्तजनहरु सहभागी हुने बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जनाएका छन् । यसअघि सोमबार कलशयात्रामा हजारौंको सहभागिता रहेको थियो । जलको घडासहितको कलश यात्रा इटहरी, धरान, विराटचौक, विराटनगर हँुदै चतराधामसम्मको थियो ।
महाकुम्भमेला भव्य र सभ्य बनाउन नेपाल सरकारले प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलाई सम्पर्क व्यक्ति तोकेको छ । जगत गुरु बालसन्त मोहनशरण देवाचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको जनाइएको छ ।
सो समितिलाई सहयोग गर्ने उद्देश्यले अन्य उपसमितिहरु समेत गठन गरिएको छ । जगतगुरु बालसन्त मोहनशरणले नेपालमा कुम्भमेलाको धार्मिक व्याख्या खोज अनुसन्धान गरी २०५९ सालमा पहिलो पटक आयोजना गराएका थिए ।
यो कुम्भ मेला भने तेश्रो पटकको हो । व्यापक प्रचार प्रसार भएकाले यस पटक कुम्भ स्नानकालागि भारत लगायत विभिन्न देशबाट हिन्दू धर्मावलम्बीहरुको सहभागिता रहने विश्वास गरिएको छ ।
पूर्ण महाकुम्भमा स्नान गरेपछि अक्ष प्राप्त हुने जगत्गुरु बालसन्त बताउँछन् । महाकुम्भलाई सफल पार्न संघीय सरकार र कोशी प्रदेश सरकार पूर्ण रुपमा लागेको बताइन्छ । भक्तजनहरुको लागि निःशुल्क स्वास्थ्य, भोजन, खानेपानी, यातायात, सुरक्षा, आवास सबैको प्रबन्ध मिलाइको नगरप्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *