संसद्को हिउँदे अधिवेशन आफ्नै भवनमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ संघीय संसद भवनको निर्माणको काम अब थोरै मात्र बाँकी रहेको छ ।
विशेष भवन निर्माण आयोजनाका निर्देशक मायाकाजी महर्जनले दिएको जानकारी अनुसार नयाँ संसद भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ । यसैगरी वित्तीय प्रगती ६७ प्रतिशत रहेको निर्देशक महर्जनले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बताएका छन् । विशेष भवन निर्माण आयोजना शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत पर्दछ ।
हाल शहरी विकास तथा निर्माण विभागको महानिर्देशकमा कुमार घिमिरे कार्यरत छन् । घिमिरे २०८० फागुन ३० गते विभागको महानिर्देशक बनेका हुन् । त्यसभन्दा अगाडि विभागको जिम्मेवारी सुरेन्द्रमोहन श्रेष्ठले सम्हालेका थिए । उनको गत फागुन १७ गते अवकाश भएको छ । श्रेष्ठ महानिर्देशक हुँदा संघीय भवन निर्माण गर्ने जिम्मेवारी पाएको तुँदी कन्स्ट्रक्सनसँग आर्थिक प्रलोभनमा परेपछि संसद् भवन निर्माणले गति लिन नसकेको जानकारहरुले बताएका छन् ।

तात्कालिन शहरी विकास सचिव रविन्द्रनाथ श्रेष्ठ, महानिर्देशक श्रेष्ठ र तुँदी कन्स्ट्रक्सन बीचको सेटिङ्गमा पटक–पटक म्याद थप्ने र लागत बढाउने काम भएको समाचार श्रोतले बताएको छ । संघीय संसद भवन तात्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले २०७६ असोज १ गते शिल्यानास गरेका थिए । पाँच वर्ष बित्न लाग्दा समेत सम्पन्न हुन नसकेको संघीय संसद भवन शहरी विकास सचिव मणिराम गेलाल, डिजी घिमिरेको विशेष सकृयतामा अघि बढेको भवन निर्माण विभाग श्रोतले जानकारी दिएको छ ।

एक सय ५१ रोपनी जग्गामा बनेको संघीय संसद भवनको अब भवनको छत हाल्ने र आन्तरिक सजावटको महत्वपूर्ण काम बाँकी रहेको आयोजना निर्देशक महर्जनले बताएका छन् । उक्त भवन निर्माणमा ५६ करोेड रुपियाँ भ्रष्टाचार भएको भनी चर्चा चल्ने गरेको छ । भ्रष्टाचारको बाछिटाले मन्त्री धनबहादुर बुढालाई पनि छोएको समाचार स्रोतले बताएको छ । यस सम्बन्धमा मन्त्री बुढासँग सम्पर्क गर्ने प्रयास गर्दा उनको मन्त्रालयको फोन उठेन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *