मुख्य सचिवमा अर्याल कि सुवेदी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ निजामती प्रशासनको सर्वोच्च पद मानिएको मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् ।
नेपालको इतिहासमा भ्रष्टाचारको आरोप लाग्ने अर्याल पहिलो मुख्यसचिव हुन् । अर्याललाई निलम्बन गरेपछि निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौलाले वरिष्ठताको आधारमा स्वतः पाएकी छन् भने अर्याललाई मुख्यसचिव सरहको पद सिर्जना गरी राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । योसँगै सरकारलाई नयाँ मुख्यसचिव नियुक्तिको बाटो खुलेको छ ।
हाल वरिष्ठताका आधारमा तोयानाथ ज्ञवाली, रामकृष्ण सुवेदी, एकनारायण अर्याल, दिनेश भट्टराई र अर्जुन पोख्रेल मुख्यसचिवको लाममा रहेका छन् । नयाँ मुख्यसचिव बनाउन सत्तारुढ दलहरुबीच गृहकार्य शुरु भएको समाचार श्रोतले बताएको छ । वरिष्ठताको आधारमा एक नम्बरमा रहेका राष्ट्रिय आयोगका सचिव तोयानारायण ज्ञवाली आगामी भदौमा अवकाश ुहने भएकाले दोश्रो र तेश्रो नम्बरमा रहेका रामकृष्ण सुवेदी र एकनारायण अर्यालमध्ये एकजना मुख्यसचिव बन्ने चर्चा चलेको छ ।
सुवेदी हाल सूचना तथा सञ्चार र अर्याल गृह सचिवमा कार्यरत रहेका छन् । सत्तारुढ दलहरुले आफ्नो अनुकूलको पात्र र आस्था राख्ने सचिवहरु खोज्ने प्रवृत्तिले अरुले मौका नपाउने जानकारहरुले बताएका छन् । यस्तो अवस्थामा माओवादी केन्द्रले सुवेदी र एमालेले अर्याललाई अगाडि सार्ने बताइएको छ । अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गर्ने भएकाले मुख्यसचिव पद पनि सत्तारुढ दल एमालेकै चाहना अनुसार हुने चर्चा चलेको छ ।
अर्याललाई एमालेको बिल्ला भिराइए पनि सुधारवादी प्रशासक भएको प्रशासन वृत्तमा चर्चा चलेको छ । सत्ता स्वार्थले राजदूत नियुक्तिमा जस्तै मुख्यसचिव नियुक्तिमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल घुँडा टेक्न बाध्य हुने समाचार श्रोतले बताएको छ । शक्ति केन्द्र र स्वार्थी समूहको चलखेल अन्त्यको पनि संभावना देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *