ऊर्जा सचिवमा केशव शर्माको चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ऊर्जा सचिव सुशीलचन्द्र तिवारी यही साताबाट अनिवार्य अवकाशमा परेका छन् । सचिव तिवारीको अवकाशपछि हाल ऊर्जा आयोगमा कार्यरत सचिव केशवकुमार शर्माको चर्चा चलेको छ ।
सचिव शर्मालाई केही समय अगाडि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ऊर्जा आयोगमा सरुवा गरिएको थियो । नेकपा (एमाले) का नेता एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काँग्रेसी पृष्ठभूमिका सचिव गोपाल सिग्देललाई मन्त्रालयमा भित्र्याएका थिए । सचिव सिग्देलले ऊर्जा सचिव हुँदा बुढी गण्डकीको ठेक्का बापत दीपक मल्होत्राले बुझाएको कमिसनमध्ये मोटो रकम मन्त्रीपत्नी एवं सांसद जुली महतोलाई बुझाएर भौतिक मन्त्रालयमा सरुवा भएको आरोप लाग्दै आएको समाचार स्रोतले बताएको छ ।
सचिव सिग्देलमाथि सिचाई सचिव हुँदा पनि आर्थिक चलखेल गरेको आरोप लागेको छ । शक्तिकेन्द्रलाई रिझाउन खप्पिस सिग्देलले ऊर्जा र सिंचाई सचिव हुँदा मन्त्री शक्तिबहादुर बस्नेतलाई प्रभावमा पारेर सबै अवस्थामा भौतिकमा मन्त्रीको गोटी बन्न सरुवा भएका भन्ने गरिन्छ । ऊर्जा मन्त्रालय पनि आकर्षक मानिएको छ ।
यता, ऊर्जा सचिवमा सरुवा हुने चर्चामा रहेका शर्मा पनि भौतिक मन्त्रालयको सचिव हुँदा तात्कालिन मन्त्री प्रकाश ज्वालालाई प्रभावमा पारेर एकलौटी गरेको सरोकारवालाहरुले बताएका छन् । एमाले बुद्धिजिवी परिषद्को सदस्य रहेको आरोप लागेका सचिव शर्माले पनि भौतिकमा हुँदा एडीबी अन्तर्गतका काँकडभिट्टा–लौकही सडकको ठेक्कामा कालिका कन्स्ट्रक्सनबाट मोटो कमिशन बुझेको आरोप सडककै जानकारहरुले लगाएका छन् ।
भद्र र शालीन जस्तो देखिने चतूर स्वभावका शर्मा पछिल्लो समय ऊर्जा आयोगमा गुमनाम अवस्थामा छन् । ऊर्जा सचिवमा अन्य प्राविधिक सचिवहरुको खडेरी परेकोले शर्माकै संभावना बढी रहेको जानकारहरुले बताएका छन् । सचिव शर्मा पनि सडक विभागको महानिर्देशक, भौतिक सचिव हुँदै मालदार ठाउँमा कार्यरत रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *