बालकोटको आशीर्वादले सडकको डिजी बनेका पोख्रेल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडक विभागको नेतृत्व गत असार ३० गते परिवर्तन भएको छ । गत २०७९ फागुन ३ गते सडक विभागको महानिर्देशक बनेका ई.सुशीलबाबु ढकाललाई १६ महिनामा विस्थापित गरी ई.रामहरि पोखरेल महानिर्देशक बनेका छन् ।
अहिले महानिर्देशक बन्नका लागि सडक विभागकै केही सूई र सिडिईहरुको जुलुश लिएर बालकोट गएपछि मात्र विभागको महानिर्देशकमा तात्कालिन उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नियुक्ति गरेको सडक विभागमा चर्चा चलेको छ । पोख्रेल अहिले महानिर्देशक नबनेको भए मन्त्रालयका सुपरिटेण्डेन्ट इन्जिनियर भीमार्जुन अधिकारी भै अर्र्कैले बाजी मार्ने खेल अगाडि बढिसकेको श्रोतको कथन छ ।
पोख्रेल निःशुल्क नभै सःशुल्क डिजी बनेको र मन्त्री महासेठलाई मज्जैले रिझाएको बुझाएको समाचार स्रोतले दाबी गरेको छ । गत जेठ ३० गते डीजी बनेका पोख्रेलले पदमा आसिन हुनासाथ आफ्नो घर जाने बाटोमा खाल्डा खुल्डी पुरेर मर्मत गरिसकेका छन् भने लोकन्थली र कौशलटार क्षेत्रका भित्री सडकहरु ठूल्ठूला भ्वाङ परेर ध्वस्त बनेको अवस्था छ ।
मुलुक बाढी पहिरोको चपेटाले ग्रस्त बनेको छ । बाटाघाटाहरु ध्वस्त बनेका छन् । जनताको आवागमनमा सकस परेको छ । निर्माण व्यवासयीहरुले भुक्तानी नपाउँदा हात बाँधेर बस्न बाध्य छन् । यस्तो अवस्थामा महानिर्देशक बनेका पोख्रेलको काँधमा अनगिन्ती चुनौती र समस्याहरु रहेका छन् । यी सबै समस्याहरुलाई भन्दा डीजी पोख्रेलले आफ्नो दुनो सोझ्याउने केन्द्रित बनेको सरोकारवालाहरुको आरोप छ ।
सिडिई हुँदा खासै जिम्मेवारीमा नबसेका पोख्रेल सूईमा बढुवा भएपछि क्षेत्रीय सडक दमक (झापा) विभागको विकास कार्यान्वयन महाशाखामा दुई वर्ष बढी र योजना महाशाखामा दुई वर्ष बढी बसी आठ– नौ वर्ष बिताएपछि महानिर्देशक बनेको समाचार श्रोतले बताएको छ । विकास कार्यान्वयन महाशाखामा बसेर कमाएको रकम मन्त्रीलाई बुझाएपछि यति बेला डीजी पोख्रेलले असुल उपर गर्न क्याल्कुलेटर थिच्न थालेको बताइएको छ ।
जोड घटाउमा लागेकोले महानिर्देशक पोख्रेलबाट पनि सडकको समस्या समाधान नहुने र फोटो झुन्ड्याउने मात्र काम हुने उलाई चिनेका र जानेकाहरुले बताएका छन् । योजना महाशाखामा बस्दा पनि डीजी पोख्रेलले फाइलहरु अड्काउने गरेको आरोप लागेको छ । डीजी पोख्रेललाई मास फेस गर्न नसक्ने र कार्यक्षमता कमजोरको समेत आरोप लागेको छ ।
यसबारे बुझ्न खोज्दा महानिर्देशक पोख्रेलसँग सम्पर्क हुन सकेन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *