सांसद दाहालमाथि हिनामिनाको आरोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

सिन्धुली/ संसदमा निक्कै नै आक्रामक रुपमा प्रस्तुत हुने गरेका नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहाल (राजन) माथि हिनामिना गरेको आरोप लागेको छ । उक्त दलको सिन्धुली पार्टी कार्यालय भवन निर्माणका क्रममा उनले आर्थिक हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेको हो ।
हालै बसेको जिल्ला समन्वय समिति सिन्धुलीको बैठकमा यसबारे कुरा उठेको समाचार स्रोतले बताएको छ । पार्टीको आन्तरिक सर्कुलरमा समेत यो विषयको उठान भएकाले दाहालले ठड्याउने सुशासनका औंलाहरु अहिले उनैतिर फर्किएको अवस्था छ ।
जिल्ला इन्चार्ज बुद्धिमान माझी (वसन्त) ले साउन २७ गते जारी गरेको आन्तरिक परिपत्रमा राजनलाई आयव्ययबारे प्रष्ट पार्न भनिएको उल्लेख छ । यसरी पटक पटक भन्दा पनि दाहालले बेवास्ता गरेको कुरा पनि परिपत्रमा उल्लेख गरिएको समाचार स्रोतले दाबी गरेको छ । भवन निर्माणबाट बाँकी रकम करिव ४०–४५ लाख जनसेवा फाउन्डेशनको नाममा जम्मा गरेको बताइने गरे पनि सोसम्बन्धमा दाहालबाट आधिकारिक रुपमा कुनै पनि जानकारी नआएको स्रोतले बताएको छ ।
बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा पनि यो विषयलाई उठाउँदा पनि दाहालले पूर्णरुपमा बेवास्ता गरेको स्रोतले जानकारी दिएको छ । उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरू जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेललगायतका नेताहरुको सहभागिता रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *