काठमाडौँ/ छठ पर्वको मुख्य दिन हिजो साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएर यस वर्षको छठ पर्वलाई उल्लासपूर्वक रुपमा विदाइ गरिएको छ । शुरुका दिनमा तराई क्षेत्रमा मात्र यो पर्व मनाइने गरिएकोमा पछिल्लो समय यो पर्व देशैभरि मनाइन थालिएको छ । काठमाडौं उपत्यकामा पनि पछिल्ला वर्षहरुमा छठ पर्व उत्साहका साथ मनाइने गरिएको पाइन्छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि शुरु भएको थियो । पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको मान्यता छ । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको मानिन्छ ।
यसैगरी सूर्य पुराणमा पनि यो पर्वको विशेष महत्व दर्शाइएको बताइन्छ । यो पुराणमा उल्लेख भए अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको हो ।
यसैगरी साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने कथा छ । छठ पर्वमा ब्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई ब्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता जनमानसमा पाइन्छ ।
अहिलेको वैज्ञानिक युगमा समेत सूर्यको महत्व झनै बढी रहेको देखिन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन नसक्ने कुरा सर्वस्वीकार्य भैसकेको छ । यसैगरी सूर्यकिरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको अवस्थाले पनि सूर्य भगवानको महत्व झनै रहेको मानिन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गरिएको छ ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर यो ब्रत बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नून नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने गरिन्छ ।