कालोसूचीमा परे सञ्चारमाध्यमहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै चारवटा सञ्चारमाध्यमहरुलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।
विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानविन गरिरहेको भनी प्रेस काउन्सिलले जनाएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको काउन्सिलले जनाएको छ ।

काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने भन्दै ती सञ्चारमाध्यमलाई कारबाही गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसैगरी दशैंअघि काउन्सिलले तीनवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो ।
एक साप्ताहिक, एक टेलिभिजन र दुई अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय भएको जनाइएको छ । यसरी कालोसूचीमा पर्ने सञ्चारमाध्यमहरुमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डटकम, खोजतलासअनलाइन डटकम छन् । आचारसंहिताकै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारबाहीका लागि काउन्सिलले सातवटा सञ्चार माध्यमलाई विशेष अनुगमनमा राखी छानविन थालेको छ । त्यसमा दियोपोष्ट डटकम, मोटिभेटन्यूज डटकम, एवननेपालन्युज डटकम, अनलाइनटिभिनेपाल डटकम, राइटसञ्चार डटकम, ताजाखबर टिभी र विजीटिभी (युट्युब च्यानल) रहेका जनाइएको छ ।
उक्त निर्णय काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरू ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी तथा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सहभागी बैठकले गरेको जनाइएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिमा पत्रकार महासंघ र बार एशोसिएसनको समेत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *