पत्रकार महासंघको चुनावमा भाँडभैलो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन आज हुँदैछ । देशभरका पत्रकारहरु महाधिवेशनमा भाग लिन कठ्याङ्ग्रीदो जाडोको प्रवाह नगरी संघीय राजधानी काठमाडौं आएका छन् । आज हुन गैरहेको पत्रकार महासंघको चुनावमा अध्यक्ष पदका लागि रमेश विष्ट, निर्मला शर्मा र देवीप्रसाद सापकोटा मैदानमा उत्रिएका छन् ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवारका रुपमा निर्मला शर्मा मैदानमा छिन् । शर्मा विगत लामो सयमदेखि पत्रकारिता क्षेत्रमा कृयाशील रहँदै आएकी छन् । विष्ट प्रेस युनियनकै असन्तुष्ट पक्ष, प्रेस सेन्टर र अन्य संस्थाहरुले साथ दिएपछि विद्रोही उम्मेदवार बनेर मैदानमा उत्रिएका छन् । विष्ट यसअघिको कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिए ।
पछिल्लो समय प्रेस युनियन राजनीतिक दलको र केही नेताको भक्त बनेपछि असन्तुष्टि बढ्दै गैरहेको छ । प्रेस युनियनको नेतृत्व गलत व्यक्तिको हातमा जाँदा प्रजातन्त्रवादी आस्था राख्ने स्वाभिमान् बोकेका निष्ठावान् पत्रकारहरु ओझेलमा पर्दै आएका छन् । पछिल्लो समय प्रेस युनियनमा विचौलिया र नेताको झोला बोकेर आफ्नो पटक भर्ने पत्रकारहरु हाबी हुने गरेको चर्चा चलेको छ ।
यस पटकको महाधिवेशनमा प्रेस युनियनबाट पत्रकार महासंघको अध्यक्ष बन्ने उम्मेदवार नै नपाएको पनि जानकारहरुले बताएका छन् । यस पटक जो अध्यक्ष बने पनि महासंघको गरिमा र श्रमजिवी पत्रकारहरुको हकहितका लागि आवाज उठाउन सक्ने व्यक्तिको क्षमता अभाव हुने बताइएको छ । सरकारमा गठबन्धनको प्रवृत्ति हाबी हुन थालेपछि एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने युनियन र चौतारीलाई पनि गठबन्धनको रोगले ग्रसित पार्दै आइरहेको छ ।
विहानभरी नेताहरुको दैलो चहार्ने र बेलुकी भट्टीमा बसेर जयजयकार गर्ने प्रवृत्तिले नेपालको पत्रकारिता क्षेत्र र महासंघलाई सबल, सक्षम र आशा लाग्दो नेतृत्व आउनेमा आशंका उत्पन्न हुन थालेको अवस्थामा महासंघमा देखिएको भाँडभैलोले आस्थाको दियो निभ्ने खतरा बढेको समाचार श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *