बुटवल गोरुसिंगेको सडक विस्तारले यात्रुलाई सास्ती

Nayabimarsha (Weekly Newspaper from Nepal)

चितवन/ नारायणगढ–बुटवल र मुग्लिङ्ग पोखरा खण्डको सडक विस्तारले सकसपूर्ण यात्रा गर्दै आइरहेका यात्रुहरुलाई अब बी.पी. राजमार्गको अलावा बुटवल गोरुसिङ्गे सडक विस्तारले अर्काे सास्ती खेप्नुपर्ने भएको छ ।
नेपालमा यात्रुहरु सडक विस्तार हुने भयो भनेर खुशी हुनुभन्दा दुखी हुनुपर्ने अवस्था बनेको जानकारहरुले बताएका छन् । सडक निर्माण समयमै पूरा नहुँदा यस्तो अवस्था आएको समाचार श्रोतले बताएको छ । अबको एक महिनापछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ५० किलोमिटर लामो बुटवल–गोरुसिङ्गेको सडक विस्तार गर्न लागिएको हो । यो सडक विस्तारका लागि १३ अर्ब ५५ करोड बढीको ठेक्का चिनिया निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ्ग गु्रप कर्पाेरेसन र चितवनको आशिष निर्माण सेवा जे.भी.ले पाएको बताइएको छ ।
विश्व बैंकको लगानीमा बिस्तार हुने उक्त सडक तीन वर्ष भित्र काम सम्पन्न गर्ने गरी गत २०८१ असार १३ गते ठेक्का सम्झौता भएको समाचार श्रोतले बताएको छ । नारायण–बुटवल र मुग्लिङ्ग पोखरा सडक खण्डमा सवारी साधन र यात्रुले पाएको वा पाउँदै आएको सास्तीलाई मध्यनजर गर्दै अहिलेको पिच नभत्काउने र दायाँबायाँको काम सकेपछि मात्र बीचको सडक बनाउने तैयारी भैरहेको बताइएको छ ।
चिनिया निर्माण कम्पनीले नै बनाउने भएकाले संसय पैदा भएको सरोकारवालाहरुले बताएका छन् । २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे सडक ६२ वर्षपछि विस्तार हुन लागेको समाचार श्रोतले बताएको छ । यो सडक खण्ड विस्तार गर्दा करिब १२० वटा घरहरु भत्काउनुपर्ने र वन्य जन्तुहरु हिडडुलका लागि १९ वटा अन्डर पास बनाइने बताइएको छ । नेपालका निर्माणाधीन सडक र पुलहरुले गति लिन नसक्नुमा सडक विभागको अक्षम नेतृत्व माथि आरोप लागेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सचिवलाई समेत विभागको अक्षम नेतृत्वको बाछिटा पर्ने गरेको जानकारहरुले बताएका छन् । विभागको अक्षम नेतृत्वले मन्त्री र सचिवको कार्यक्षमता ओझेलमा परेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *