काठमाडौं नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्र्थापना गर्न माग गरिएको छ । दुई दिनसम्म यहाँ चलेको धार्मिक संघ संस्थाहरुको राष्ट्रिय सम्मेलनले यस्तो माग गरेको हो ।
नेपाल सन्त समाजका विशिष्ट स्वामीजीहरुको संरक्षकत्वमा ॐकार परिवारमा रहेका धार्मिक संघ संस्थाहरुले त्यस्तो माग गरेका हुन् । वैदिक, बौद्ध, जैन, सिख, किरात, बोन लगायत समग्र ॐकार धार्मिक संघसंस्थाहरु आयोजक रहेको सम्मेलनको संयोजन विश्व ॐकार एकता महाभियान रहेको थियो ।
सम्मेलनमा विश्व ॐकार एकता महाभियानका संयोजक डा. चिन्तामणि नाथ योगीले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने मागलाई सम्मेलनले पारित गरेको थियो । सम्मेलनले अबदेखि हरेक वर्ष असोज ३ गते अन्न ग्रहण नगरी ‘व्रत आन्दोलन’ को रुपमा मनाउने निर्णय पनि गरेको छ । सोही दिन नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको थियो । नेपाल धर्मसापेक्ष नभएसम्म असोज ३ गतेको दिन अन्न ग्रहण नगर्ने र व्रत आन्दोलनको रुपमा मनाउने निर्णय भएको आयोजकहरुले जनाएका छन् ।
सम्मेलनले सरकारसमक्ष नेपालमा भएका मठ, मन्दिर, गुठी, गुम्बा लगायतका धार्मिक धरोहरहरु सम्बन्धित धार्मिक समुदायको व्यवस्थापन र नेतृत्वमा मात्र सञ्चालन गर्नुपर्ने माग पनि गरेको छ । यसैगरी ती क्षेत्रमा सनातन धर्म इतरका व्यक्ति र राजनीतिक नियुक्ति बन्द गर्नुपर्ने लगायतका १३ बुँदे मागहरुलाई समेत उठान गरेको छ ।
यसैगरी एकादशी र औंसी जस्ता मुख्य तिथिपर्वहरुमा देशभित्र सबै किसिमका हिंसा बन्द गर्ने र मास–मदिरा पसल बन्द हुनुपर्ने माग पनि गरिएको छ । यस्तै, ॐकार परिवारको धार्मिक आस्थाका केन्द्रहरु आश्रम, मठमन्दिर, लगायतका सबै क्षेत्रलाई करमुक्त क्षेत्र घोषणा गर्नुपर्ने, स्थानीय कृषि प्रणाली र गौवंश संरक्षणका लागि सामुदायिक वनमा गौचरण क्षेत्र अनिवार्य छुट्याउनुपर्ने माग पनि सम्मेलनले गरेको छ ।
सरकारी कामकाजमा नेपाली भाषा प्रयोग गर्नुपर्ने, सवारी साधन अनुमतिपत्र (लाइसेन्स), बैंकमा पैसा राख्दा दिने अभिलेख लगायत विदेशी भाषा र इस्वी संवत्मा दिने कार्य गरिएकाले राष्ट्र बैंकबाटै सुधार गर्नुपर्ने माग पनि गरिएको छ । यस्तै सरकारी कर्मचारी र सरकारको संरक्षणमा सञ्चालित मठमन्दिर र कोष आदिमा कार्यरत कर्मचारी वा धार्मिक गुठी प्रतिनिधिले सम्बन्धित परम्परा अनुसारको स्वदेशी भेषभूषा अनिवार्य लगाउनुपर्ने माग सम्मेलनले गरेको छ ।
नेपाल सरकार लगायत सम्बन्धित समुदायले सञ्चालन गरेको मठमन्दिर, आश्रम, गुठी र गुम्बाको आम्दानी पाठशाला, गौशाला, यज्ञशाला, औषधालय, भोजनालय, पुस्तकालय जस्ता विषयमा मात्र खर्च गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
नेपाल हिन्दु राष्ट्र पुनःस्थापना आन्दोलनको अल्पकालीन र दीर्घकालीन कार्यक्रम अघि बढाउन आवश्यक रकमका लागि सकेसम्म ठूलो अक्षयकोष स्थापना गर्ने, धार्मिक विवादहरुमा अन्तिम निर्णय दिन धर्माचार्यहरुको सहभागितामा धर्मसभा गठन गर्ने, ॐकार परिवारहरुको साझा आस्थाको केन्द्र विश्व सनातन हिन्दु महासभा गठन गर्ने लगायतका ९ बुँदे निर्णय सम्मेलनले गरेको जनाइएको छ ।
सम्मेलनमा देशभरका दुई सय बढी ॐकार धार्मिक संघसंस्थाका गुरु तथा अगुवाहरु सहभागी रहेका बताइएको छ ।
उक्त सम्मेलनमा गलेश्वर पीठका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश डा.रमणानन्द गिरी, केदारेश्वर पीठका पीठाधीश डा. स्वामी चितघन चैतन्य, ब्यासाचार्य किशोरकुमार गौतम, पुष्पराज पुरुष, प्राचार्य भोलानाथ योगी लगायतको सहभागिता रहेको बताइएको छ । डा. चिन्तामणि नाथ योगी, मोहन लामा रुम्बा, आदि ज्ञान केन्द्रका सूर्य माखिम र डा. बासुदेवकृष्ण शास्त्रीले सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
असोज ३ गते अब व्रत आन्दोलन
Facebook Comments Box