काठमाडौं/ सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ ।
मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू’ पाठकमाझ ल्याएकी हुन् ।
कलाकार उत्तम के.सी.को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्वअध्यक्ष एवं नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली रहेका थिए । यसैगरी संगीतकार राजु सिंह, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याललगायतले सो अवसरमा बधाइ ज्ञापन गरेका थिए ।
कार्यक्रममा कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्र पत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’ मा समावेश गरेको जानकारी दिइन् । मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै लेखिका अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको जानकारी दिए ।
गीता कला मनोरञ्जन पत्रकारिताको अलावा गीत लेखनमा पनि सक्रिय छिन् । उनका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् । मिलाप पब्लिकेशन प्रा.लि.ले पाठकमाझ ल्याएको ४७७ पृष्ठको यस कृतिको मूल्य ९९९ रुपियाँ राखिएको छ । तस्बिर ः सुरेन्द्र थापा ।