काठमाडौँ / ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ) को छैटौँ संस्करण सम्पन्न भएको छ ।
काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघुचलचित्र पाउलोको प्रदर्शनसँगै शुरु भएको तीन दिने चलचित्र महोत्सव चलचित्र विकास बोर्डमा उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रहरुलाई अवार्ड वितरणसँगै समापन गरिएको थियो ।
राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी र अन्तर्राष्ट्रियतर्फ भारतको चलचित्र पुभुले सर्वोत्कृष्ट चलचित्र अवार्ड प्राप्त गरेका थिए । राष्ट्रियतर्फ प्रतिष्पर्धामा सहभागी चलचित्रहरु बुलाकी, पुजार सार्की, डेसान, पखेटा र बिच्छेद मध्ये ‘पुजार सार्की’ फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका थिए । यसैगरी उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र पुजार सार्कीबाट दिनेश राउत, उत्कृष्ट छायाकारको अवार्ड चलचित्र बुलाकीबाट शिव ढकाल, इन्करेजमेन्ट अवार्ड बुलाकीबाट अभिनेता नरेन खड्काले र उत्कृष्ट स्कृप्टको अवार्ड चलचित्र पँखेटाबाट सनोल दासले हासिल गरे ।
राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट लघु चलचित्रको अवार्ड रित्तो गाउँबाट रामजी ज्ञवाली, वृत्तचित्रको अवार्ड नो मोनास्ट्री नो भिलेजबाट टासी ल्हाजोमले, महिला चलचित्रको अवार्ड पिरियडबाट रेवती गुरुङले, बाल चलचित्रको अवार्ड द स्कुल वालबाट मोहन श्रेष्ठले प्राप्त गरे । यस्तै, कल्चरल चलचित्रको अवार्ड चिपागु निलाबाट योवन शाक्यले, जुरी मेनसन अवार्ड चलचित्र छेसाङबाट रजिला श्रेष्ठले, स्पेशल मेनसन अवार्ड सर्ट फिल्म थ्रेसोल्डबाट सरिता शाहले र एभोन्टोज पपुलर अवार्ड चलचित्र लेट नाइटबाट ओविन उद्दिनले प्राप्त गरेका छन् ।
सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अग्रज संगीतकार एवं महोत्सवका राष्ट्रियतर्फ निर्णायक प्रमुख शम्भुजीत बासकोटा, नेपाली र विदेशी निर्णायकहरू, अग्रज अभिनेत्रीहरु बसुन्धरा भुसाल, भुवन चन्द, चैतेदेवी सिंहले लगायतले विजेताहरूलाई अवार्ड प्रदान गरेका थिए । चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास बोर्डको सहआयोजनामा आयोजित महोत्सवमा ४७ देशका ९८ वटा चलचित्रहरू अन्तिम प्रतिस्पर्धामा थिए । यी सबै चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिएको थियो ।
महोत्सवमा अन्तराष्ट्रियतर्फ आठ जना विदेशी निर्णायकहरू मध्ये भारतबाट निपोन धौला, जर्मनीबाट फाविन मात्थियस, इरानबाट तिमा टाघिजादेह, बहराइनबाट इभा दाउद र रुसबाट इरिना बेराजी महोत्सवमा उपस्थित रहेका थिए ।
महोत्सवका अध्यक्ष एवम् निर्देशक सन्तोष सुवेदीले नेपालमा महोत्सव आयोजना गर्न निकै गाह्रो हुने गरेको बताए ।

एनसिआईएफएफ को छैटौँ संस्करण
Facebook Comments Box