विराटनगर/ चेतना संरक्षण प्रतिष्ठान नेपाल, विराटनगरले २० औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ । यहाँ आयोजित एक भव्य समारोहमा साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कला लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।
प्रतिष्ठानले यस वर्ष एक लाख ५१ हजार रुपियाँ नगद राशिको ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ साहित्यकार चूडामणि बन्धुलाई प्रदान गरेको छ । त्यसैगरी, सोही अवसरमा जनही ५१ हजार रुपियाँ राशिका अन्य पुरस्कारहरू पनि प्रदान गरिए । ‘बालकिशन नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति चेतना पुरस्कार’ भानुभक्त जोशी (बझाङ) र ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर (झापा) लाई प्रदान गरियो ।
यसैगरी, ‘नरेश सुवेदी साहित्यिक पत्रकारिता पुरस्कार’ पत्रकार कमल पौडेल (मोरङ), ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ कलाकार सन्तोष पन्त (काठमाडौं), ‘डा.नरेन्द्र योगमाया भवानीशंकर चापागाईं युवाप्रतिभा चेतना पुरस्कार’ युवा प्रतिभा रामजी राम (रौतहट) र ‘केदारनाथ मञ्जु सत्याल बालप्रतिभा चेतना पुरस्कार’ बालप्रतिभा आभाष ढकाल (स्याङ्जा) लाई प्रदान गरिएको थियो । यस वर्षदेखि नवस्थापित एक लाख एक हजार राशिको ‘जगतबन्धु–अञ्जु कार्की साहित्य सेवा चेतना पुरस्कार’ काव्यकार सोमराज अभयलाई प्रदान गरियो ।
महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख प्रा.डा. बाबुराम तिम्सिना प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पुरस्कारका संस्थापकहरू, प्रतिष्ठानका पदाधिकारीहरू र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले पुरस्कृत व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद राशि प्रदान गरेका थिए ।
त्रैमासिक चेतना सन्देश पत्रिका प्रकाशन गर्दै प्रतिष्ठानले आफ्ना गतिविधिहरूलाई व्यापक बनाउँदै लगेको प्रतिष्ठानको अध्यक्ष गंगा सुवेदीले जानकारी दिइन् । उनले साहित्यसँगै समसामयिक विषयमा बहस र विचार गोष्ठीहरूको आयोजना पनि गर्दै आएको बताइन् ।

चेतना संरक्षण प्रतिष्ठानद्वारा पुरस्कृत
Facebook Comments Box