नयाँ वर्षसँगै भूमिसुधार सचिवको अवकाश

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल सरकारका सचिवहरुको अवकाश हुने क्रममा भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोख्रेल पनि परेका छन् । सचिव पोख्रेलको अवकाश नयाँ वर्षको भोलिपल्ट अर्थात् २०८२ साल वैशाख २ गते हुने बताइएको छ ।
अर्थ मन्त्रालयको अनुभव भएकाले सचिव पोख्रेलले अर्थमन्त्रालय ताकेका थिए तर उनी सफल हुन नसकेपछि भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत रहेका थिए । आय आर्जनका हिसाबले भूमिसुधार मन्त्रालय आकर्षक मानिने गरिन्छ । अधिराज्य भरका नापी र मालपोत प्रमुखहरुको सरुवाबाट प्राप्त हुने दक्षिणाले मन्त्री एवं सचिवको गाला चिल्लो बन्ने गरेको जानकारहरुले बताएका छन् ।
सचिव पोख्रेल, अवकाश हुन अगाडि नै सहकारी विकास प्राधिकरण अधिराज्यभरका सहकारीहरुको अनुगमन र नियमन गर्ने हिसाबले गठन गरिएको हो । प्राधिकरणको अध्यक्ष बन्नका लागि सचिव पोख्रेलले मन्त्री बलराम अधिकारीलाई मोटो रकम बुझाएको चर्चा चलेको छ । पछिल्लो समय मालपोत र नापी विभागले गर्ने कर्मचारीहरुको सरुवामा मन्त्रीको सचिवालयले हस्तक्षेप गर्दा समेत सचिव पोख्रेल निरिह बन्ने गरेको समाचार श्रोतले बताएको छ ।
भूमिसुधार तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको अतिरिक्त आम्दानीले गोकर्णमणि दुवाडी गृहसचिव बनेको र पोख्रेल प्राधिकरणको अध्यक्ष बन्ने सिंहदरबारभित्र गाइँगुइँ हल्ला चलेको छ । सचिव पोख्रेलले मन्त्री अधिकारीको मतियार बनेर फाइदा लिँदै आएको समाचारमा उल्लेख छ ।
यता, वैशाखको पहिलो साता अवकाश हुन लागेका प्रमुख निर्वाचन आयुक्तको ठाउँमा हालका मुख्यसचिव एकनारायण अर्यालको चर्चा चलेको छ । श्रमसचिव गृहसचिव हुँदै मुख्यसचिव बनेका अर्याल कार्यक्षमता र सुधारवादी प्रशासकका रुपमा चिनिन्छन् । आर्थिक वर्षको अन्त्यसम्म करिब आधा दर्जन सचिवहरुले अवकाश पाउने भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *