राजदूत घिमिरे र बेलायती सभामुखबीच भेटवार्ता

Nayabimarsha (Weekly Newspaper from Nepal)

लन्डन/ बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र बेलायती संसद्को तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलबीच भेटवार्ता भएको छ । यहाँको वेष्टमिनिष्टरमा मंगलबार भएको शिष्टाचार भेटघाटमा राजदूत घिमिरेले ‘बेलायती संसद् सबै सांसदहरूको जननी हो’ भन्ने बेलायती राजनीतिज्ञ एवं सुधारक जोन ब्राइटको भनाइ उद्धृत गर्नुभएको थियो ।
उहाँले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालको संसद् समावेशी भएको स्मरण गराउनुभयो । नेपालको संसदमा बेलायतलक्षित सर्वदलीय संसदीय समिति गठन गरिएको जानकारी दिँदै उहाँले सभामुख होयलसमक्ष नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको सहयोगप्रति पनि आभार व्यक्त गर्नुभयो ।
बेलायत र नेपाल दुई देशबीच दुई शताब्दी बढीको न्यानो र सौहार्दपूर्ण सम्बन्ध स्मरण गर्दै राजदूत घिमिरेले उच्चस्तरीय भ्रमण र आदानप्रदानको महत्त्वमा जोड दिनुभएको दूताबास स्रोतले जानकारी दिएको छ । विशेष गरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, नेपालको समृद्धि आकांक्षा पूरा गर्न र सन् २०२६ सम्ममा नेपाल अल्पविकसित मुलुक (एलडिसी) बाट ग्रयाजुएसनपछिको प्रगतिलाई दिगो बनाउन तथा बाँकी रहेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका गुनासोहरू सकेसम्म चाँडो सम्बोधन गर्न बेलायत सरकारबाट निरन्तर सहयोगको अपेक्षा पनि राजदूत घिमिरेले गर्नु भएको थियो ।
सभामुख होयलले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक र अद्वितीय सम्बन्धको चर्चा गर्दै भविष्यमा दुवै देशका संसदीय समूहहरूबीच सहकार्यको सम्भावना व्यक्त गर्नुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *