जपान । परराष्ट्रमन्त्री डा. आरजु राणा र गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठलाई जापानमा भव्य स्वागत गरिएको छ ।
टोकियोमा बुधवारदेखि शुरु अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा यहाँ आउनु भएको हो । सर्वोच्च अदालतबाट गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष श्रेष्ठ कर्मथलो आएका हुन् ।
मन्त्री राणा र अध्यक्ष श्रेष्ठलाई जपानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, संघको एशिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठले विमानस्थलमा स्वागत गरेका थिए । यसैगरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जपानका अध्यक्ष नवीन निउरे तथा पदाधिकारीहरू, एनसीसी जपानका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेस जनसम्पर्क समिति जपानका सभापति रोशन के.सी.लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
मन्त्री राणाले जापानी समकक्षी इवाया ताकेसीसँग दुईपक्षीय भेटवार्ता हिजो गर्नुभयो । मन्त्री राणा नेतृत्वको टोली शनिवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
