काठमाडौं/ नेपालमा पहिलो पटक आयोजना भएको “राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर” मा हजारौंले नशामुक्तिको संकल्प गरेका छन् । भगवती मानव कल्याण संगठनले काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा गरेको कार्यक्रममा संगठनका संस्थापक–सञ्चालक “धर्मसम्राट युग चेतना पुरुष सद्गुरुदेव परमहंश योगीराज श्री शक्तिपुत्रजी महाराजले नेपालमा नशा पतनको प्रमुख कारण भएको भन्नुभयो ।
उहाँले नशाजन्य पदार्थको व्यापर बन्द गर्न नेपाल सरकारलाई आह्वान गर्नुभयो । देशमा सरकारले आफैं नशाजन्य पदार्थलाइ प्रश्रय दिइरहेको भन्दै यसलाई नरोकेसम्म देशको समृद्धि सम्भव नहुने औल्याउनुभयो । संगठनले पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रम धामको आध्यात्मिक चेतना तरंगलाई माध्यम बनाएर विश्वभर लाखौँ मानिस नशामुक्त भएको भन्दै नेपालबाट समेत नशामा ग्रसित व्यक्तिहरु ठूलो संख्यामा नशामुक्त भएको दाबी गरेको छ ।
नेपाल भ्रष्टाचारका कारण अघि बढ्न नसकेकाले अब भ्रष्टाचार अन्त्यका लागि काम गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएकाले नेपालको विकासका लागि सहयोग गर्न भारत सरकारलाई आग्रह गर्नुभयो । नेपाल र भारत सरकार मिलेर संयुक्त रुपमा भ्रष्टाचार उन्मुलनका लागि काम गर्न आग्रह गर्नुभयो ।
शक्तिचेतना जनजागरण शिविरमा श्री शक्तिपुत्रजी महाराजले सहभागिलाई ११ संकल्प गराउनुभयो । यसमा नशा, मांशाहारमुक्त चरित्रवान्, चेतनावान् बनाउनु, पर्यावरणको रक्षा, गौ रक्षा लगायतको संकल्प गराइएको थियो । गलत कर्म गर्ने व्यक्तिलाई कहिल्यै साथ नदिन र आपूmसमेत गलत कर्म नगर्न संकल्प गराइएको थियो ।
यस्तै शक्तिपुत्र महाराजले आत्मिक परिवर्तनका लागि नेपालीजनका लागि छुट्टै कुण्डलीनि शक्तिको विशेष साधनाको कार्यक्रम प्रदान गर्ने बताउनुभयो । शक्तिसाधना गराउँदै साधनाको रहस्यकाबारे अनुभूतिको यात्रामा अघि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शिविरको प्रातकालिन समयमा देश विदेशबाट आएका हजारौँ सहभागीहरुले योग ध्यान साधनाको निःशुल्क लाभ प्राप्त गरेका थिए । कार्यक्रमका सहभागीहरुलाई योगाशनका साथै अष्टांग योगका विविध क्रमका बारेमा मार्गदशन गराइएको थियो । पहिलो दिनको योग साधना कार्यक्रमलाई सञ्चालन गर्दै शक्ति स्वरुपा दिदी सन्ध्या शुक्लाले योगको बहुआयमिक लाभको विषयमा प्रकाश पार्नुभयो ।

योग अभ्यास नगर्ने मानिसहरुले आफ्नो स्वास्थ्य माथि आफैँ खेलवाड गरिरहको भन्दै नियमित समय दिएर रोग अनुरुपका योगासन गर्न सुझाव दिनुभयो । योग शिविरमा भगवती मानव कल्याण संगठनकी केन्द्रीय अध्यक्ष शक्तिस्वरुपा दिदी पुशा शुक्ला एवम् पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रम ट्रस्टकी प्रधान न्यासी ज्योति शुक्लाले समेत सहभागीहरुलाई मार्गनिर्देशन दिनुभएको संस्थाकी अस्मिता दाहालले जानकारी दिनुभयो ।
जेठको २ र ३ गते चलेको शिविरमा दोस्रो दिन गुरुदीक्षा कार्यक्रम राखिएको थियो । प्रातकालिन कार्यक्रममा नशामुक्त हुन देश–विदेशबाट हजारौँ मानिसहरु सहभागी हुन शिविरमा सहभागी भएका थिए । शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिएको थियो । नशाको लतका साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने एवम् ठूलो बिमारीमा सहायकसिद्ध हुने शक्तिजल शिविरमा निःशुल्क वितरण गरिएको भगवती मानव कल्याण संगठन शाखा, नेपालका सञ्चार संयोजकः बि.पी. कोइरालाले जानकारी दिनुभयो ।
