काठमाडौं/ नेपाल प्रहरीमा एस.एस.पी.बाट डी.आइ.जी. पदमा हुन लागेको बढुवाको यतिबेला चर्चा छ । उक्त १० रिक्त पदमा हुन लागेको बढुवामा तीन वटा ब्याचीहरुको भीडन्त हुने देखिएको छ ।
डी.आइ.जी. पदमा बढुवाको दाबेदारमा २०५४ साल चैतमा सेवा प्रवेश गरेका, २०५६ साल असारमा सेवा प्रवेश गरेका तथा २०५८ सालमा नेपाल प्रहरीमा छिरेका तर राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेको मिति जोडेर ‘सिनियर’ बनेका टोलीहरुको प्रतिस्पर्धा रहेको स्रोतले बताएको छ ।
२०५४ साल चैतमा खुला प्रतिस्पर्धाबाट प्रहरी सेवा प्रवेश गरी २०७९ साउन ३ गते एस.एस.पी. भएका २ जना, २०५८ सालमा नेपाल प्रहरीमा छिरेका तर राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेको मिति जोडेर ‘सिनियर’ बनेकाहरु एकथरी छन् । यसैगरी २०७९ साउन ३ गते नै एस.एस.पी. भएका १० जना तथा २०५६ साल असारमा खुला प्रतिस्पर्धाबाट प्रहरी सेवामा प्रवेश गरी २०८० बैशाख २४ गते एस.एस.पी. भएका १५ जना गरी जम्मा २७ जना अधिकृतहरु प्रतिस्पर्धामा रहेका बताइएको छ ।
२०५४ र २०५६ सालमा प्रहरी निरीक्षक पदमा खुला प्रतिस्पर्धामा सामेल भएर लोक सेवा आयोगद्वारा लिइएको लिखित परीक्षाहरु, शारीरिक बाधापार परीक्षा, मेडिकल टेस्ट तथा अन्तर्वार्ता आदि सबै चरण पार गरेर सेवा प्रवेश गरेका अधिकृतहरु तुलनात्मक रुपमा सबल मानिन्छन् । राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएका अधिकृतहरु भन्दा कार्यक्षमता, अनुभव, अनुशासन, नैतिकता, आचरण र पदीय मर्यादाको सवालमा उनीहरु अग्रस्थानमा छन् ।
नेपाल प्रहरीमा ‘नमस्ते टोली’ को नामबाट परिचित अधिकृतहरु राष्ट्रिय अनुसन्धान विभागबाट आएकाहरु रहेका बताइन्छ । यी अधिकृतहरु ‘चुरोटको खोलमा निवेदन लेखेर जागीर खाएका’ भनेर समेत हासीमजाकका पात्र बन्ने गरेका छन् । नेपाल प्रहरीको कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सामेल नभएका यिनीहरु नेपाली कांग्रेसका खुमबहादुर खड्का गृहमन्त्री हुँदा मन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीमा प्रवेश गर्न सफल भएका बताइन्छ ।
नेपाल प्रहरीमा २०५८ सालमा प्रवेश गर्ने तर राष्ट्रिय अनुसन्धानमा छिर्दाको अवधि जोडेर आफूलाई २०५३ र २०५४ सालको ब्याच भन्दै हिँड्ने यिनीहरुको टोली तात्कालीन समयमा ३० जनाभन्दा बढीको संख्यामा नेपाल प्रहरीमा स्थानान्तरण हुन सफल भएको थियो । नियमित प्रतिस्पर्धा गर्न नसकी बीचमा छिरेका यिनीहरुलाई नेपाल प्रहरीमा प्रवेश गरेको मितिदेखि मात्र सिनियरीटी कायम गरिनुपर्छ भनेर प्रहरीमा खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेका २०५४ साल, २०५६ साल तथा २०५८ सालका तात्कालीन प्रहरी निरीक्षक टोलीहरुले सर्वोच्च अदालतमा रीट समेत दायर गरेका थिए । यसरी बीचमा छिरेका यी अधिकृतहरुका कारण २०५४, २०५६ तथा २०५८ सालमा सेवा प्रवेश गरेका क्रमशः १११, ११२ र ११४ औं टोलीका प्रहरी अधिकृतहरु बढुवामा सधैं पछाडि पर्न बाध्य भएका बताइएको छ ।
भर्खरै मात्र नेपाल प्रहरीमा ६ जना ए.आइ.जी. हरुको बढुवा भयो । यही बढुवामा समेत पैसा र पावर प्रयोग गरी यिनीहरु झण्डै बढुवा हुन लागिसकेका थिए, यिनीहरुकै कारणबाट झण्डै एक महीनापछि धकेलिएको बढुवा प्रक्रियामा अन्ततः नेपाल प्रहरीले ऐतिहासिक निर्णय गर्दै यिनीहरुलाई सामेल गराएन र प्रहरीमै खुला प्रतिस्पर्धामा भिडेर प्रवेश गरेका अधिकृतहरुलाई न्याय मिलेको अनुभूति गराएको भनी प्रहरीवृत्तमा चर्चा चल्ने गरेको छ ।
अब हुने एस.एस.पी. बाट डी.आइ.जी. को बढुवामा पनि त्यस्तै किसिमको ऐतिहासिक निर्णयको आवश्यकता छ भनी चर्चा चल्ने गरेको छ ।
निष्पक्षमा बन्लान् त डिआइजी ?
Facebook Comments Box
