काठमाडौं/ पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनलाई पक्रन भनी प्रहरी उनको घरमा पुगेको छ । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर) को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको भन्नेबारे केही बताइएको छैन । प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको बताइएको छ । त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले दाबी गरेको छ ।
पाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेकाले यहि विषयलाई उठाइएको हो कि भनी समाचार स्रोतले अनुमान गरेको छ । त्यसमा पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरको विषयलाई उठाएका थिए । जयवीरको दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट व्यवसाय चलाएको विषय पोष्ट गरिएको थियो । यसैगरी शंकर ग्रुपको मुख्य लगानी रहेको नक्सालस्थित पाँचतारे होटल हिल्टनमा पनि जयवीरलाई जोडेर समाचार बनाइएको थियो । उनले जयवीरको सम्पत्तिमाथि प्रश्न उठाएका थिए ।
यस सम्बन्धमा शंकर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गरेर पाठकले उठाएको समाचारको खण्डन गरेको थियो । साथै त्यसविरुद्ध कानूनी प्रक्रिया अपनाउने पनि सो खण्डनमा उल्लेख थियो । ‘राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडी हुँदै नभएको विषय सृजना गरी सार्वजनिक भएका यस्ता भ्रामक समाचारहरुले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पु¥याउने कार्य भए गरेकोप्रति गम्भीर आपत्ती जनाउँदै नेपालको प्रचलित कानून बमोजिम आवश्यक प्रक्रिया अपनाइने व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौं ।’ भनी खण्डनमा उल्लेख गरिएको थियो ।
यसरी शंकर गु्रपले नै उजुरी गरेको आधारमा पक्राउ पुर्जी जारी गरिएको हो कि भनी समाचार स्रोतले अनुमान गरेको छ ।
उता, पाठकले समाचार सामग्री प्रशारण गरेकै आधारमा सरकारले जबरजस्ती गर्न खोजेको आरोप लगाएका छन् । त्यसलाई रोक्न आवश्यक कदम चाल्न सञ्चारसम्बद्ध निकायलाई इमेल पठाएर उनले अनुरोध पनि गरेका छन् । पाठकले प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघलाई ‘जानकारी तथा सहयोगको अपेक्षा सहित’ भनी इमेलबाट पत्र पठाएका हुन् ।
प्रशारित सामग्रीमा असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला आफूसँग, यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने वैधानिक बाटो रहेको पाठकले पत्रमा उल्लेख गरेका छन् । काउन्सिलले अनुसन्धान तथा छानविन गर्नुपर्ने कानूनी व्यवस्था रहँदा रहँदै विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजिएको भन्दै पाठकले त्यसप्रति आपत्ति जनाएका छन् ।
पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी
Facebook Comments Box
