काठमाडौं/ प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित भएसँगै नेकपा (एमाले) को संस्थापन पक्षलाई धक्का लागेको छ । थापा प्रतिस्पर्धी ओमप्रसाद थपलियालाई ४३ मतले पछि पार्दै अध्यक्षमा चुनिएका हुन् । थापाले २५६ र थपलियाले २१३ मत पाएका थिए ।
त्यसो त थपलियालाई सर्वसम्मत रुपमा घोषणा गर्न एमालेको संस्थापन पक्ष लागेकोे थियो । इतर पक्षबाट थापाले समूह बनाएको अवस्थामा थपलिया पक्षलाई जिताउन एमालेको संस्थापन पक्ष लागे पनि त्यो सफल नभएको बताइएको छ ।
यसैगरी महिला उपाध्यक्षमा यसोदादेवी खरेल निर्वाचित भइन् । उनले अर्की प्रतिस्पर्धी हिमादेवी बस्नेतलाई १५३ मतान्तरले हराइन् । खरेलले ३०५ मत पाएर निर्वाचित हुँदा बस्नेतको पक्षमा १५२ मत परेको हो । खुला उपाध्यक्ष पदमा भीमसेन बन्जरा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी महासचिवमा थापाकै समूहबाट उम्मेदवारी दिएका भुवनप्रसाद निरौला निर्वाचित भए । उनले १६३ मत पाए । महासचिव पदमा निरौलाका निकटतम प्रतिस्पर्धी शिव अर्यालले ११६ मत पाएका थिए । यसैगरी महासचिवमा भने देवीप्रसाद भट्टराईले ८३ र शान्तिराम खतिवडाले २७ मत पाएका थिए ।
यस्तै, उपमहासचिव पदमा बाबुराम राई २१७ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी सहकुल खत्रीले ११८ मत पाए । अर्का प्रत्यासी अनन्तराज लुइँटेलले ११२ मत पाएका थिए । यसैगरी सचिवमा युवककुमार गौतम र मुकुन्दप्रसाद अधिकारी निर्वाचित भए । गौतम १३९ मत पाएर सचिव चुनिएका थिए भने अधिकारी र हरिप्रसाद मैनालीको बराबर १३१ मत आएको थियो । त्यसपछि गोलाप्रथाबाट अधिकारीलाई सचिवमा चयन गरिएको थियो ।
उता, कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे २९२ मतसहित निर्वाचित भए ।
यसरी पीपीएलएको निर्वाचन नै नगराउने पक्षमा रहेको एमालेको संस्थापन पक्षलाई यो निर्वाचन प्रक्रिया र परिणामले धक्का दिएको छ । त्यसो त यसअघि बुद्धिजीवी परिषदमा पनि संस्थापन पक्षलाई धक्का दिंदै इतर पक्षले निर्वाचन परिणाम आफ्नो पक्षमा पारेको थियो ।
पीपीएलएमा अमर थापा निर्वाचित
Facebook Comments Box
