ब्रसेल्स/ ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंँग अन्तरक्रिया गरेको छ ।
बेनेलक्स एवम् युरोपेली संघका लागि नेपाली राजदूत सेवा लम्सालले आगामी कार्ययोजना बनाउन सहयोग पुगोस् भनेर नेपाली समुदायको सुझाव लिन अन्तरक्रियाको आयोजना गरिएको बताइन् ।
डायस्पोराका संघसंस्थासंग विशेषगरी चारवटा बुँदा “नेपालमा पर्यटन प्रवद्र्धन एवम् पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचारप्रसार, नेपालमा लगानी भित्र्याउन दूतावासले खेल्नुपर्ने भूमिका, बेल्जियममा उपलब्ध रोजगारीका अवसर र चुनौती, दूतावासको सेवा प्रवाहलाई सरलीकृत गर्न के कस्ता उपाय अपनाउन सकिन्छ ?’ भन्ने बारेमा सुझाव मागिएको दूताबासले जनाएको छ ।
हालै आयोजित अन्तरक्रियामा उपस्थित नेपाली समुदायका अगुवा तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुले बेल्जियममा बीसौ बर्षदेखि भोग्दै आएका समस्या र समाधानका विषयहरु उक्त अवसरमा छलफलका विषय बनेका थिए । त्यसका लागि व्यावहारिक उपाय र कूटनीतिक पहल, लगानी र पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकारले गर्नुपर्ने र सुधार्नुपर्ने नीतिनियम एवं युरोपको श्रम बजारमा नेपाली जनशक्तिको पहुँचका लागि गर्न सकिने काम लगायतका विषयहरुमा पनि छलफल भएका थिए । यसैगरी एनआरएन नागरिकता, दोश्रो पुस्तालाई नेपालसँंग जोड्नका लागि पहल, भिसा सम्बन्धि समस्या, हवाई यातायात समस्या, युरोपमा नेपाली वायु सेवा कम्पनीहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवाको पहल साथै योग, ध्यान, नेपाली परिकार, कला संस्कृति मार्फत नेपालको प्रवद्र्धन गर्ने लगायतका सुझावहरु दिएका थिए ।
यसैगरी सहभागीहरुले दूतावासको सेवासुविधा चुस्त बनाउन आधुनिक प्रविधिको प्रयोग, सेवाग्राहीलाई सेवा सम्बन्धि सचेतना जगाउन कार्यक्रम, पर्यटन गन्तव्यको रुपमा नेपाललाई प्रवद्र्धन गर्न बेल्जियमका मिडियाहरुमा प्रचारप्रसार गर्ने कार्य उपयुक्त हुने धारणा राखेका थिए । यसैगरी नेपाली व्यावसायिक संस्था (रेस्टुरेन्ट, पसल) हरुमा नेपाल झल्काउने सामग्री वितरणको व्यवस्था, नेपाल फेस्टिबल, फूड फेस्टिबल गरिरहेका नेपाली संघसंस्थाहरुसंँग सहकार्य र प्रोत्साहन, नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र परीक्षाको व्यवस्था, आफ्ना नजिकका बेल्जिक साथीहरुलाई नेपालको भ्रमणमा जान प्रोत्साहन गर्ने लगायतका दूतावास र नेपाली समुदायले गर्न सक्ने थुप्रै विषयमा सुझाव दिएका बताइएको छ ।
नेपाली दूतावास बेल्जियमका तृतीय सचिव रमेश गैरेले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा राजदूत लम्सालले सबै सहभागीहरुलाई स्वागत गरेकी थिइन् । उनले आफ्नो बेल्जियम आगमनको १२० दिन मात्र पुगेको भए पनि आपूm दशकौंदेखि बेल्जियमको बस्तुस्थितिबारे जानकार रहेको बताइन् । उनले प्रवासमा बसेर पनि नेपाल र नेपालीको हितका लागि निस्वार्थ सेवा गरी रहेका नेपाली संघ संस्था तथा अगुवाहरुको प्रशंसा गर्दै छलफलबाट प्राप्त सुझावहरु कार्यपुस्तिका बनाएर राख्ने र सोहि अनुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरिन् । उनले नेपालमा लगानीका लागि व्यवसायीहरु, नेपालको प्रचारप्रसारका लागि संचारकर्मीहरु, रोजगारीका लागि पेशाकर्मी तथा संस्थाहरु, भाषा साहित्य र कलासंस्कृतिको प्रवद्र्धन एवम् प्रचारप्रसारका लागि कलाकार, साहित्यकार, जातीय तथा सांस्कृतिक संस्थाहरुलाई दूतावाससंँग सहकार्य गर्न अनुरोध गरिन् ।
कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव रूस कार्की, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, एनआरएनए बेल्जियमका पूर्वअध्यक्षहरु एवं केन्द्रीय पदाधिकारीहरु पीजी शेर्पा, गंगाधर गौतम, लोक दाहाल, चित्र सुवेदीका साथै बेल्जियमस्थित सांस्कृतिक, सामाजिक, क्षेत्रीय संघसंस्थाका पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिति थियो ।
बेल्जियमस्थित दूतावासमा अन्तरक्रिया
Facebook Comments Box
