काठमाडौं/ कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ…’ प्रदर्शनी भइरहेको छ । सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको बताइएको छ ।
नाटकमा गायत्री जोशी, सुमिक्षा न्यौपाने, इस्मिता भुषाल, अन्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाइँ, मनोज बोहरा, पवन थापालगायत कालाकारहरुको अभिनय रहेको छ । सुन्दरता, खुशी र समाजको परिभाषालाई भित्री मनको आँखाले परिभाषित गर्ने यात्रा हो नाटक ‘जब फूलले आकार लिन्छ…’ । यहाँ दुई समानान्तर पात्रहरुको आफ्नो भोगाइलाई चित्रण गरिएको छ । एकातिर प्रकृतिसँग रमाउन चाहने रानीफूललाई जब मन्दिरमा चढाउने तयारी गरिन्छ, तब उसको विद्रोहको आवाजहरु गुञ्जिन थाल्छन् । अर्कोतिर परिवार र समाजबाट अपहेलित चित्रकारले आपूmलाई कुरुप भनिएकै कारण उसले सुन्दर चित्रहरु बनाउन थाल्छ । यी दुई पात्रहरुको यात्रा, संघर्ष र परिवेशमा नाटकको कथाबस्तु तयार पारिएको दर्शकहरुले बताएका छन् ।
समाज र व्यक्तिका दृष्टिकोणले जीवनको परिभाषा फरकफरक हुन्छ । समाज र समयले लखेट्दा लखेट्दा एक बिन्दुमा पुगेका चित्रकार र प्रकृतिसँग रमाउन चाहने रानीफूलले आफ्नो जीवनमा खोजेको परिभाषा हो नाटक ‘जब फूलले आकार लिन्छ…’ । नाटकमा बाहिरीभन्दा भित्री सुन्दरताको महत्व खोज्ने चित्रकार र आफैभित्र खुशी खोज्ने रानीफूलको संघर्षको कथा प्रस्तुत गरिएको छ ।
मितव्ययी रंग दर्शनलाई प्राथमिकतामा राखेर नाटकहरु निर्माण गर्दै आएको सर्वनामले हरेक वर्ष नियमित रंगप्रशिक्षण कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । सडक नाटकका जन्मदाता तथा प्रसिद्ध नाटककार अशेष मल्लले लामो समयदेखि सर्वनाममा ध्यानाभिनय सिद्धान्तमार्फत् नाट्य प्रशिक्षण दिँदै आइरहेका छन् । तीन महिने रंग प्रशिक्षणपश्चात् तयार पारिएको नाटक ‘जब फूलले आकार लिन्छ…’ त्यही सिद्धान्तमा आधारित रहेको बताइएको छ । बिहीबारबाहेक हरेक दिन सवा ५ बजे र अतिरिक्त सो शनिबार १ बजे मञ्चन हुँदै आइरहेको नाटक साउन १८ गतेसम्म मञ्चन हुने जनाइएको छ ।
सर्वनाममा ‘जब फूलले आकार लिन्छ…’
Facebook Comments Box
