काठमाडौं/ जेन–जी समूहले गरेको दुई दिनको आन्दोलनले काँग्रेस–एमालेको सत्ता ढलेको छ भने सात दर्जनको हाराहारीममा युवाहरुले ज्यान गुमाएका छन् ।
खर्बौ रुपियाँ बराबरको सार्वजनिक र व्यक्तिगत सम्पत्ति जलेर खरानीमा परिणत भएको छ । प्रमुख दलका नेताहरु र व्यापारिक भवनहरु आक्रमणको निशानामा परेका छन् । ठूला राजनीतिक दलका नेताहरुले नेपाली सेनाको सहयोगमा ज्यान जोगाउन सफल भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा माथि आक्रमण भै अस्पतालमा उपचाररत रहेका छन् । यी सबैलाई गत भाद्र २३ र २४ गतेको आन्दोलनले विस्तापित गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिमण्डल गठन भएको छ ।
यो उथलपुथलमा जेन–जी युवाहरुको प्रमुख भूमिका रहेको बताइएको छ । जेन–जी आन्दोलनलाई पर्दा पछाडिबाट काठमाडौका प्रमुख बालेन्द्र (बालेन) शाह र धरानका प्रमुख हर्क साम्पाङ्गको साथ रहेको चर्चा चलेको छ । आन्दोलनको सफलतापछि अहिले त्यसको नेतृत्व लिने व्यक्ति र नेताको खोजी भैरहेको समाचार श्रोतले बताएको छ । शुरुमा जेन–जी समूह भनेर चिनिएको यो आन्दोलन अहिले तीन चिरा परेको चर्चा चलेको छ ।
खासगरी मिराज ढुंगाना, पुरुषोत्तम यादव र सुदन गुरुङ्गको नाम चर्चामा रहे पनि अहिले ढुंगाना र यादव चर्चामा छैनन् र गुरुङ्गमात्र चर्चामा आएका छन् । गोरखा निवासी भनिएका गुरुङ्ग ‘हामी नेपाल’ र बारबरा फाउण्डेशनमार्फत भूकम्पपीडितलाई सहयोग गर्ने गरेको र सामाजिक कार्यममा सकृय रही आएको बताइएको छ । जेन–जी समूहभित्रै गुरुङ्गको माग मुद्दा बाहेक अरुको ओझेलमा परेको जानकारहरुले बताएका छन् ।
जेन–जी समूहको आन्दोलनले पार्टीहरुममा पुस्तान्तरणको बहस पनि शुरु भएको र भ्रष्टाचार एवं सुशासन कायम हुनुपर्ने युवाहरुको आवाजलाई प्राथमिकतामा राखेको छ । अब यो सरकारले जेन–जी समूहले उठाएको भ्रष्टाचार, सुशासन, स्वास्थ्य, शिक्षा, बेरोजगारीलाई हल गर्न सक्छ कि सक्दैन त्यो हेर्न बाँकी नै रहेको जानकारहरुले बताएका छन् ।
