काठमाडौं/ गत भाद्र २४ गते जेन–जी आन्दोलनकारीले लगाएको आगोले बबरमहलमा रहेको सडक विभाग जलेर ध्वस्त भएको छ । २०७२ सालको भूकम्पले क्षतविक्षत बनाएको सडक विभाग प्रबलीकरण (रेक्ट्रोफिटिङ्ग) पछि २०८० साल भदौ ६ गते चाकुपाटस्थित यान्त्रिक कार्यालयको भवनबाट बबरमहल सारिएको थियो ।
बबरमहलमा २ वर्ष चानचुन बसेर सडक निर्माणलाई अघि बढाएको सडक विभाग २०८२ भदौ ३० गते पुनः चाकुपाटस्थित पुरानै भवनमा सरेको छ । सडक विभागको तालुकवाला मानिने सिंहदरबार भित्रको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि आंशिक क्षति भएको छ । सडक विभाग बबरमहलमा सरेपछि सुशील बाबु ढकाल, रामहरि पोखरेल र डा. विजय जैशी महानिर्देशक बनेर जिम्मेवारी सम्हाल्दै आएका थिए ।
सडक विभागका हालका महानिर्देशक डा. जैशी गत जेठको दोश्रो साता मात्र महानिर्देशक बनेर काम गरेका हुन् । छोटो समयमै महानिर्देशक जैशीले एक्शनमा उत्रेर सडक निर्माणलाई अगाडि बढाएको जानकारहरुले बताएका छन् । आन्दोलनकारीको निशानामा परेको सडक विभागमा महानिर्देशक बस्ने कार्यकक्ष, वैदेशिक सहायता समन्वय महाशाखा, मर्मत सम्भार महाशाखा, आर्थिक प्रशासन, पुल महाशाखा पूर्णरुपमा क्षति भएको र योजना महाशाखा आंशिक रुपमा क्षति भएको सडक विभाग स्रोतले बताएको छ ।
उता, आन्दोलकारीको निशानामा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पनि परेपछि कागजपत्रहरु जलेर नष्ट भएको बताइएको छ । सडक विभागको भवनभित्र ५ वटा महाशाखाका अतिरिक्त हुलाकी रााजमार्ग, मध्यपहाडी राजमार्ग, उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना र नागढुंगा–सिस्नेखोला सुरुङ्गमार्ग आयोजनाका कार्यालयहरु रहेका थिए । आगलागीबाट विभागको डेटा सेन्टर सुरक्षित रहेको विभागले जानकारी दिएको छ ।
विभागलाई शक्ति र श्रोतको भण्डार मानिएकाले सिडिईहरुको सरुवाममा मन्त्रीले र सचिवले चासो राख्ने र चलखेल गर्ने गरेको आरोप लाग्ने गरेको छ । अहिलेका भौतिक मन्त्रीमा नियुक्त कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा केशव शर्मा सिँचाई सचिव भएकाले चिनजान भएको कारण सहज हुने बताइएको छ ।
जेन–जीको आन्दोलनले सडक विभाग ध्वस्त
Facebook Comments Box
