गणेशमानको स्मृति दिवस मनाइयो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस हिजो विविध कार्यक्रम गरी मनाइएको छ ।
सिंहलाई नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा लिइने गरिएको छ । वि.सं. २०४६ को जनआन्दोलन सफल भएपछि तात्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गर्नु भएको थियो ।
वि.सं.१९७२ कात्तिक २४ गते काठमाडौँको क्षत्रपाटीस्थित चाक्सीबारीमा जन्मिनु भएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो । काठमाडौँको खानदानी परिवारमा जन्मिनु भएका सिंह वि.सं. १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय हुनु भएको थियो ।
राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि सिंहलगायतलाई तात्कालीन सरकारले कारागारमा हालेको बताइएको छ । वि.सं. २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल सिंह प्रवास जानुअघि नै तात्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । सिंह जेलबाट भागेर भारतमा पुगी अर्का नेता बी.पी. कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नु भएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिमा एक अगुवाका रूपमा उहाँले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नु भएको बताइएको छ । देशमा प्रजातन्त्र बहाली र पुनः बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले कोइरालाका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनु भएको पनि बताइन्छ ।
वि.सं.२०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्रीका रुपमा उहाँले काम गर्नु भएको थियो । २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनु भएका सिंह वि.सं.२०२५ मा कोइरालासँगै सुन्दरीजल बन्दीगृहबाट रिहा हुनु भएको थियो । त्यसपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरी भारतमा बस्नु भएका सिंह वि.सं.२०३३ मा कोइरालासँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तात्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने कार्यमा लागि रहनु भयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *