काठमाडौं/ ऊर्जा, सिंचाई तथा भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले वर्षौदेखिका रुग्ण बनेका सडक र पुलहरु बनाउनेतर्फ चासो राखेका छन् ।
ठेक्का लिएर बर्षौदेखि अलपत्र परेका करिब तीन सयवटा सडक र सयवटा जति पुलहरुको ठेक्का तोडेर नयाँ ढंगले अघि बढाइने मन्त्री घिसिङले बताएका छन् । लामो समयदेखि काम नभई विकास आयोजनालाई अलपत्र पार्ने निर्माण व्यवसायीहरुप्रति मन्त्री घिसिङले अनुहार हेरेर छुट दिन नसकिने बताएका छन् ।
तोकिएको समयमा गुणस्तरिय सडक र पुलहरु बन्न नसक्दा जनतालाई सास्ती भएको छ । मन्त्री घिसिङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक र पुलहरु शहरी विकास मन्त्रालयअन्तर्गत पर्ने कछुवा गतिमा निर्माण भैरहेका कारण खोतल्न लागि परेका स्रोतले बतायो । यसक्रममा संघीय संसद भवन र राष्ट्रिय गौरवको सुनकोशी मरिण बहुउद्देश्यीय सिँचाई आयोजना निर्माण व्यवसायी र कर्मचारीहरुको कमिसनका कारण समयमै पूरा हुन नसकेका भन्ने ठम्याइमा घिसिङ पुगेका पनि बताइएको छ । विगतमा कमिसन खाएर मोटाएका कर्मचारीहरुप्रति मन्त्री घिसिङले निर्मम बन्दै अनियमितता गरेको फेला परे तुरुन्तै कारबाही गर्ने चेतावनी समेत दिएको समाचार स्रोतले बताएको छ ।
भ्रष्टाचार र कुशासनविरुद्ध जेन–जी आन्दोलनले स्थापित गरेको अन्तरिम सरकारका मन्त्री घिसिङले सेवा प्रवाहमा पनि सुधार गर्नुपर्ने बताएका छन् । ठेकेदार कम्पनीको लापर्बाहीबाट वाक्कदिक्क बनेका यात्रुहरुको मर्कालाई ध्यानमा राख्न उनले भनेका छन् । यसक्रममा नारायणगढ– बुटवल सडक खण्डको दाउन्ने र बी.पी. राजमार्गलाई संचालनमा ल्याउनुपर्ने र सडकका खाल्डाखुल्डीहरु पुरी चाडपर्वमा यात्रुहरुको आवागमनलाई सहज बनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
जेन–जीको मुख्य अजेन्डा नै भ्रष्टाचार नियन्त्रण गर्नु रहेकाले विगतमा सिडिइ योजना प्रमुख बनेर ‘तर मारेका’ हरुलाई पनि सुध्रिनुपर्ने बेला आएकाले कसैले अनियमितता गरेको फेला परे नछाडिने मन्त्री घिसिङको कथन छ ।
यता, अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो गएर अवरुद्ध बनेको सडक चरिकोट डिभिजनका प्रमुख एवम् सिडिइ नारायणदत्त भण्डारीको अथक प्रयासपछि संचालनमा आएको छ । यसले तातोपानी नाकामा रोकिएका कन्टेनरहरु दशैंको सामान लिएर काठमाडौं आउन थालेपछि मन्त्री घिसिङले सिडीई भण्डारीलाई धन्यवाद दिएको समाचार स्रोतले बताएको छ । भण्डारी जहाँ बसे पनि कामप्रति सकृय रहने कर्मचारी भनी विभागमा चिनिएका व्यक्ति रहेको पनि समाचारमा उल्लेख छ ।
त्यसैगरी सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध देवकोटाले पनि विगतको परम्परा तोडी काठमाडौंका सडकलाई खाल्डाखुल्डीरहित बनाउने अभियान थालेको जानकारहरुले बताएका छन् ।
घिसिङले अनुहार हेरेर छुट नदिने
Facebook Comments Box
