सचिव दुवाडीलाई कारबाही गर्न माग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नयाँपुस्ता–युवापुस्ता (जेन–जी) को आन्दोलन दबाउन भूमिका खेलेको आरोप लागेका गृहसचिव गोकर्णमणि दुवाडीलाई गृहमन्त्रालयबाट सरुवा गरिएको छ । उनको ठाउँमा रक्षा सचिव रामेश्वर दंगाललाई ल्याइएको छ ।
सचिव दंगाल गृहकै क्याडर हुन् । यसअघि गृहमन्त्रालयमा बसी ब्रह्मलुट गरेको आरोप लागेका दुवाडी गृहप्रशासनका क्याडर नरहेको बताइएको छ । उनी कांग्रेससँग निकट भएकै आधारमा गृहसचिव बन्न पुगेका भनी समाचार स्रोतले दाबी गरेको छ । उनीमाथि कांग्रेस नेतृ डा.आरजु राणाको आशीर्वाद रहेको बताइएको छ । दुवाडीमाथि भिजिट भिजामा सेटिङ मिलाएको आरोप पनि लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तात्कालिन प्रमुख तीर्थराज भट्टराई, तात्कालिन गृहमन्त्री रमेश लेखक र दुवाडीले भिजिट भिजा प्रकरणमा आतंक चलाएको आरोप लागेको हो । त्यस्तो अवस्थामा पनि नेतृ राणाको कृपादृष्टि उनीहरुमाथि परेका कारण उक्त प्रकरण छानविनको दायरामा समेत नआएको बताइन्छ ।
दुवाडी आगामी मंसिरमा अनिवार्य अवकासमा जाने स्रोतले बतायो । यसअघि भूमिसुधार सचिव हुँदा दुवाडीले मालपोत र नापीको सरुवामा रकमै किटान गरी दर तोक्ने गरेको पनि स्रोतले दाबी गरेको छ । जेन–जीको आन्दोलन दबाउन भूमिका खेलेका भनिएका दुवाडीले गत चैत्र १५ गते राजावादीहरुको आन्दोलन दबाउन पनि आदेश दिएका थिए । त्यो बेला पनि दुईजनाको मृत्यु भएको थियो । दुवाडीकै आदेशमा त्यो बेलाका काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गोली चलाउने आदेश दिएका बताइएको छ । गोलीबाट एकजनाको तथा गोली चलेपछिको प्रतिवाद गर्ने क्रममा आगजनी हुँदा थुनिएर एकजना पत्रकारको मृत्यु भएको बताइएको छ ।
जेन–जीको आन्दोलनको छानविन गर्ने समितिले दुवाडीलाई पनि छानविनको दायरामा ल्याउनुपर्ने कुरा उठिरहेको बताइएको छ । उनीमाथि छानविन गर्न हालका गृहमन्त्री ओम प्रकाश अर्याल तथा सचिव दंगाल तयार हुनुपर्ने भनी गृहमन्त्रालयमा चर्चा चलिरहेको छ । यसैबीच दुवाडीको काठमाडौंस्थित घरमा समेत जेन–जी आन्दोलनकारीहरुले गत भदौ २४ गते आगजनी गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *