विपिन जोशी जिवितै रहेको आशा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशी जिवितै रहेको भन्ने आशा पलाएको छ । इजरायली गुप्तचर अधिकारीहरुले एउटा भिडियो प्राप्त गरेको भन्दै बुधबार साँझ सार्वजनिक गरेपछि त्यस्तो आशा पलाएको हो ।
विपिनका परिवारजनले पनि यो भिडियोबाट उनी जीवितै रहेको विश्वास जागेको भनी प्रतिक्रिया दिएको समाचार प्राप्त भएको छ । ‘गाजाबाट प्राप्त यो जीवनको प्रमाण, जसलाई आज हामी तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उनी जीवित छन् भन्ने अटुट विश्वास दिलाएको छ,’ जोशी परिवारजनले भनेको भनी समाचारमा जनाइएको छ ।
कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएपछि उनको अवस्था हालसम्म थाहा हुन सकेको छैन । अध्ययनको सिलसिलामा इजरायल पुगेका विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि थप दबाब दिनका लागि उनीहरु अहिले अमेरिकामा छन् ।
बुधबार साँझ सार्वजनिक गरिएको भिडियो ३३ सेकेन्डको छ । यसमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको बताएका छन् । उनले आफू ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताएका छन् । यो भिडियो कहिले खिचिएको हो भन्ने स्पष्ट हुन नसकेका कारण अन्यौल भने कायमै रहेको बताइएको छ ।
सन् २०२३ नोभेम्बरमा ‘वाल स्ट्रिट जर्नल’ ले प्रकाशित गरेको रिपोर्टअनुसार, विपिनले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । रिपोर्टका अनुसार दुईवटा ग्रिनेड बंकरमा छिर्दा विपिनले तीमध्ये एउटा समातेर बाहिर फ्याँक्न सफल भएका थिए । दोस्रो ग्रिनेड विस्फोट हुँदा भने उनका पाँच साथीहरू गम्भीर रूपमा घाइते भएका थिए । विपिनलाई भने हमासले अपहरण गरी गाजामा लगेका बताइएको छ । एक समयमा उनलाई अलशिफा अस्पतालमा राखिएको भनी समाचार आएको थियो । सो अस्पतालमा रहेको उनको भिडियो पनि सार्वजनिक गरिएको थियो । त्यसयता उनको अत्तोपत्तो थिएन ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको ६ घण्टापछि गाजामा युद्धविराम गर्न हमास सहमत भएको बताइएको छ । हमासले गत शुक्रबार राति घोषणा गरेअनुसार, उनीहरू ट्रम्पको योजना अनुसार सबैतिरका बन्दीहरू (जीवित वा मृत) अवस्थामा रिहा गर्न तयार छन् । साथै, गाजाको प्रशासन छोड्न पनि तयार भएको जनाइएको छ ।
हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयार रहेको जनाएको छ । यो सूचीमा नेपालका विपिन जोशी पनि रहेका भनिएको छ । यसअघि हमासले सार्वजनिक गरेको ‘बिदाइ सूची’ मा विपिनको पनि तस्वीर समावेश गरिएको थियो ।
यस विषयलाई लिएर नेपाल सरकारले आधिकारिक धारणा ल्याएको छैन । इजरायलका लागि नेपाली राजदूतबाट पनि आधिकारिक धारणा नआएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *