‘परान’ को टिजर सार्वजनिक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ प्रदर्शनीमा आउने तयारीमा रहेको चलचित्र ‘परान’ को टिजर सार्वजनिक भएको छ । आगामी कार्तिक १४ गते यसको प्रदर्शनी तय भएको बताइएको छ ।
वरिष्ठ अभिनेता नीर शाहको जन्मदिनको अवसर पारेर आइतबार चलचित्रको पोएटिक टिजर सार्वजनिक गरिएको निर्माण पक्षले जानकारी दिएको छ । टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको बताइएको छ । पराजुलीका शब्दहरूमा चलचित्रका मुख्य कलाकार शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको बताइन्छ ।
कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो, बढाइयो एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने कुरा व्यक्त भएको छ ।
टिजरमा शाहका अलवा मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द तथा अञ्जना बराइली लगायत पनि अटाएका छन् । सक्किगोनीका कलाकार दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा निर्माण भएको चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा लगायत कलाकारको अभिनय रहेको बताइएको छ ।
गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको चलचित्र कम्पनी बाइस्कोप सिनेमा प्रा.लि.ले निर्माण गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *