किताब विमोचनमा राजनीतिक कुरा

Nayabimarsha (Weekly Newspaper from Nepal)

दाङ/ वरिष्ठ राजनीतिज्ञ बलदेव शर्मा मजगैयाँले अहिले मुलुकको अवस्था २०३३ सालको भन्दा पनि बढी जोखिमपूर्ण रहेको बताउनु भएको छ ।
डा. सुदीप गौतमद्वारा लिखित ‘दाङको न्यायिक र प्रशासनिक इतिहास’ नामक पुस्तकको घोराहीमा विमोचन गर्दै पूर्वमन्त्री तथा साहित्यकार मजगैयाँले देशको अस्तित्व माथि नै सङ्कट आउँदा बी.पी. कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको सम्झना गर्नुभयो । उहाँले, “अहिलेको अवस्था त्यो भन्दा झन् जटिल र खतरनाक छ, तर हाम्रो नेतृत्वसँग देश कसरी सम्हाल्ने चेतना छैन ।’’
सन् १९७५ मा एउटा जनमत सङ्ग्रहपछि सिक्किम भारतमा विलय गरिएको घोषणा गरिएको थियो । त्यसपछि तात्कालीन पञ्चायती व्यवस्थाको विरोधमा भारतमै बसेर आन्दोलन गरिरहनु भएका कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो । त्यसबेला मजगैयाँ पनि कोइरालासँगै भारतमै रहनु भएको थियो ।
नयाँ पुस्ताले गरेको पछिल्लो आन्दोलनलाई स्मरण गर्दै मजगैयाँले “यो आन्दोलनको उद्देश्य र घटनाक्रम, विशेष गरी हिंसात्मक गतिविधि हुँदा मलाई ४२ सालको सत्याग्रह सम्झना आयो, काँग्रेसले सत्याग्रह शुरु गर्दा पनि यस्तै चुनौतीहरू आएका थिए ।’’ भन्नु भयो । “कुनै पनि आन्दोलनमा घुसपैठ हुन सक्छ । ठूलो विद्रोह भएमा त त्यो सम्भावना अझ बढ्छ तर काँग्रेसले निर्णय ग¥यो — सत्याग्रहका क्रममा जहाँसुकैबाट पनि हिंसा भए सत्याग्रह स्वतः स्थगित हुनेछ भनेर । सत्याग्रहमा सहभागी नभएका, भूमिगत रहेका रामराजाप्रसाद सिंहले बम काण्ड गरे । हामीलाई समेत फसाउन खोजियो र ‘काँग्रेसले नै गरेको भनेर आरोप लगाइयो । तात्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सो हिंसात्मक घटनामा काँग्रेसको हात नरहेको स्पष्ट गरेपछि हामी बच्यौँ ।’’
मजगैयाँले गत भदौ २३, २४ गतेको घटनाक्रममा कसैले नैतिक जिम्मेवारी नलिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले उदाहरण दिँदै भन्नुभयो, “२०३० सालमा सिंहदरबारमा आगलागी भएपछि तात्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिए । २०४४ सालमा दशरथ रङ्गशालाको दुर्घटनापछि तात्कालीन शिक्षा मन्त्री केशरबहादुर विष्टले राजीनामा दिए । अहिले देशभरि यस्ता विध्वंसक घटना भए पनि कोही जिम्मेवारी लिन तयार देखिँदैन ।’’
तुलसीपुर नगरपालिकाका पूर्वप्रमुख घनश्याम पाण्डे, सर्वोदय पुस्तकालय दाङका अध्यक्ष सुशील गौतम, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, पत्रकार दुर्गालाल के.सी. लगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए । गोरक्ष दैनिककी प्रकाशक सुलोचना गौतमको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *