कलाकारप्रति प्रतिष्ठानको चासो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हालका दिनहरूमा चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरू माथि अनर्गल आरोप लगाउने कार्य भैरहेको भनी त्यसप्रति आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष के.पी.पाठकले हालै एक विज्ञप्ति प्रकाशित गरी जेन–जी आन्दोलनमा भएको उहाँहरूको सामाजिक अभिव्यक्ति र भौतिक उपस्थितिका आधारमा सुनियोजित रूपमा चरित्र हत्या गर्ने प्रयास भैरहेको भनी आपत्ति प्रकट गर्नु भएको छ ।
गत भदौ २३ र २४ गते भएका घटनामा कतिपय चलचित्रकर्मी कलाकारहरुले तात्कालिन सरकारले गरेका गलत कार्यहरुप्रति आक्रोश पोखेकै आधारमा त्यसलाई आपराधीकरण गर्ने प्रयास भइरहेको भनी प्रतिष्ठानले आपत्ति प्रकट गरेको हो । प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा ‘नेपालको सामाजिक रूपान्तरणमा कलाकारहरूको उपस्थिति र भूमिकाले ऐतिहासिक रूपमा निर्णायक प्रभाव पार्दै आएको छ । २०३६ सालको आन्दोलन देखी २०६२÷६३ को जनआन्दोलनसम्म, कलाकारहरूले सदैव सामाजिक चेतना र परिवर्तनका आवाजलाई मुखरित गरेका छन् । त्यसैले, आजका कलाकारहरू सामाजिक आन्दोलनमा उभिनु इतिहासको निरन्तरता र लोकतान्त्रिक जिम्मेवारीको अभिव्यक्ति हो । कुनै अपराध होइन ।’ भनिएको छ ।
यसैगरी उक्त विज्ञप्तिमा ‘सामाजिक सञ्जाल र केही राजनीतिक मञ्चहरूबाट कलाकारहरूलाई सामाजिक बहिष्कारको धम्की दिने, झुटो दोषारोपण गर्ने र अभद्र भाषा प्रयोग गरी नियोजित रूपमा बदनाम गर्ने कार्यको घोर निन्दा र भत्र्सना गर्दछौं । यो प्रवृत्ति लोकतान्त्रिक मूल्य र सांस्कृतिक स्वतन्त्रतामाथिको सिधा प्रहार हो । यदि सामाजिक सरोकारका बारेमा बोल्नु वा आन्दोलनमा सहभागी हुनु नै अपराध हो भने, अहिलेसम्मका सम्पूर्ण लोकतान्त्रिक आन्दोलनहरूमा सहभागी हुने नागरिक र नेतृत्वकर्ताहरू के अपराधी ठहरिनेछन् ? कलाकारहरूको सामाजिक सहभागितालाई अपराधीकरण गर्ने यो प्रयास गलत छ र यसले लोकतन्त्रको जगमाथि नै प्रहार गर्दछ । प्रदर्शनका क्रममा भएको क्षति वा घटनाको विषयमा छानविन आयोग गठन भइसकेको सन्दर्भमा, आयोगको प्रतिवेदन आउनुअघि नै कलाकारहरू माथि गरिएको दोषारोपण र चरित्र हत्या कानुनी प्रक्रियाको अपमान र मानहानी पनि हो । न्यायिक निष्कर्ष नआई कुनै व्यक्तिलाई अपराधी ठह¥याउनु लोकतान्त्रिक न्यायसंस्कारको गम्भीर उल्लङ्घन हो ।’ भनिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *