काठमाडौं/ ठेक्का सम्झौता गरी वर्षाैदेखि अलपत्र पारिएका सडक र पुलको रुग्ण ठेक्का सम्झौता धमाधम तोड्ने प्रकृया मन्त्री कुलमान घिसिङले शुरु गरेका छन् । अन्तरिम सरकारका भौतिक पूर्वाधार, उर्जा, सिँचाई तथा शहरी विकास मन्त्रीका रुपमा आएका घिसिङ तातेपछि मन्त्रालयका अन्य पदाधिकारीहरु पनि तात्न विवश भएका छन् ।
नेकपा (एमाले) बाट तात्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सडक विभागका महानिर्देशक रामहरि पोख्रेलले तोड्न आनाकानी गरेका करिब ५० वटा ठेक्काहरु मन्त्री घिसिङले तोड्ने भएका छन् । यसअनुसार जनकपुर सडक डिभिजनका २१, काठमाडौंका ७, ओखलढुंगा र अछामका ५–५, दमौली र पाल्पाका ४–४ तथा धनकुटा, पोखरा, मध्य पहाडी र गोरखा सडकका १–१ गरी ५० वटा रुग्ण ठेक्कामाथि कारबाही अघि बढेको सडक विभाग श्रोतले जानकारी दिएको छ ।
हाल देशभर करिब २६० वटाजति ठेक्का रुग्ण रहेको बताइएको छ । यी ठेक्काहरु पटक–पटक म्याद थपेर पनि काम सम्पन्न गर्नेतर्फ चासो नदिएपछि ठेक्का सम्झौता तोड्ने प्रकृया शुरु भएको विभागले जनाएको छ । अब यी ठेक्काहरु तोडेपछि निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत जफत गर्ने, पेश्की रकममा १० प्रतिशत ब्याज असुली गर्ने र बाँकी कामको खर्च सरकारी बाँकी सरह असुलउपर गर्ने र कारबाही गरिने भएपछि ठेकेदारहरुले बाह्र बज्ने भएको छ । विगतमा डिजी, सिडिइ कर्मचारीहरुले आर्थिक लाभ लिने गरेका कारण योजना–आयोजनाको काममा ढिलाई हुने गरेको अवस्थामा मन्त्री घिसिङ र सडक विभागका महानिर्देशकले अर्थतन्त्र सबल बनाउनका लागि कुनै मोह नराखी रुग्ण ठेक्काहरु धमाधम तोड्न शुरु गरेको श्रोतले बताएको छ । अहिले मन्त्री घिसिङ्ग र डिजी जैशीको काम गर्ने तरिका मिलेको जानकारहरुले बताएका छन् ।
यता हक्की स्वभावका डिभिजन सडक काठमाडौंका प्रमुख सुवोध देवकोटाले निर्माण कार्यमा लापरबाही गर्ने ५७ वटा निर्माण कम्पनीहरुलाई १५ दिनभित्र ठेक्का नतोड्ने कारण बताउन निर्देशन दिएपछि निर्माण व्यवसायीहरुको निदहराम बनेको श्रोतले जानकारी दिएको छ । बिगतमा सत्ता र शक्तिको आडमा अटेर गर्दै आएको ठेकेदार कम्पनीहरु श्ौलुङ कन्ट्रक्सन कम्पनी, पूर्ण विनायक, सफल जेभी, कश्यप निर्माण सेवा थप्पु, डाँफे जेभी, त्रिवेणी कन्स्ट्रक्सन, सम्झना निर्माण सेवा, पन्थ कन्स्ट्रक्सन, रामधानी, देशप्रेम गौरीपार्वती लगायतका ठूला कम्पनीको बाह्र बजेको बताइएको छ ।
भौतिक मन्त्री र सडक डिजीको एक्शन शुरु
Facebook Comments Box
