काठमाडौं/ ऊर्जा, भौतिक र शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा नगर्ने स्पष्ट पारेका छन् । उनले राजीनामा गर्ने भनी व्यापक हल्ला चलेपछि उनले हल्ला असत्य भएको भनी सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् ।
जेनजी पुस्ताका ऐतिहासिक आन्दोलनपछि बनेको हालको सरकारमा उनले तीनवटा विकासे मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । मन्त्री घिसिङले सम्हालेको मन्त्रालयहरुमा ऊर्जा सिंचाई तथा जलश्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय रहेका छन् । यी मन्त्रालयहरुमा वर्षौदेखि थुप्रिएर बसेका बेथिति र विकृतिको चाङहरुलाई मन्त्री घिसिङले सफा गर्न शुरु गरेका बताइएको छ ।
खासगरी ऊर्जा, सिंचाई, सडक र शहरी विकास मन्त्रालयमा होल्ड रुग्ण ठेक्काहरु धमाधम तोड्ने प्रकृया शुरु भएको छ । यसैगरी विद्युतको वक्यौता पनि उठ्ने दिशामा अघि बढेको छ । यस अगाडिका मन्त्रीहरुले रुग्ण ठेक्का तोड्न आनाकानी गर्दा राज्यलाई आर्थिक भार र विकास निर्माण अधुरो बन्ने गरेको थियो ।
मन्त्री घिसिङको यो कदमले केही निर्माण व्यवसायीहरु र विद्युतको महशुल नतिर्ने उद्योगपतिहरु रुष्ट बने पनि मुलुकलाई फाइदा भएको र सुशासनको जग बस्न शुरु भएको जानकारहरुले बताएका छन् । विज्ञताको हिसाबले पनि मन्त्री घिसिङले सही मन्त्रालयको जिम्मेवारी पाएको नागरिक वृत्तमा चर्चा चलेको छ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुकार बम (जो २०७९ को संघीय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. १ बाट चौथो स्थानको मत ल्याई पराजित भएका थिए) ले नयाँ शक्तिहरु नमिले पुरानै शक्ति फर्किने दाबी गरेका छन् । उनले कुलमान घिसिङ, बालेन शाह, सुमना श्रेष्ठ, सुदन गुरुङ र सागर ढकाल लगायतका नेताहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् । उनले नत्र पुरानो शक्तिले भोलि भ्रष्टाचारको मुद्दा लगाउने, आर्थिक भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग, संगठित अपराध, आतंकवादलाई प्रोत्साहन, सार्वजनिक सम्पत्ति तोडफोड ज्यान मार्ने मुद्दा, आगजनी लगायत मुद्दा दायर हुन सक्ने बताएका छन् । उनले रवि लामिछानेमाथि प्रतिशोध साँधिएको जस्तै हुनसक्ने भन्दै सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै राजीनामा गर्न दबाब दिएको चर्चा चलेको छ ।
मन्त्री घिसिङलाई राजीनामा गर्न दबाब
Facebook Comments Box
