काठमाडौं/ नेपाल सरकारको मुख्यसचिव एकनारायण अर्याल प्रमुख निर्वाचन आयुक्त बन्नका लागि दौडधूपमा लागेको बताइएको छ । ५८ वर्षे उमेर हदका कारण आगामी मंसिर १० गते अवकासमा जाने अर्यालले लगत्तै प्रमुख निर्वाचन आयुक्त हुनका लागि दौडधूप बढाएको स्रोतले बताएको छ ।
अवकासमा जानुभन्दा केही दिनअघि राजीनामा गरेर रिक्त रहेको प्रमुख निर्वाचन आयुक्तमा जानका लागि अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको चाकडी गर्न थालेको आरोप लाग्न थालेको छ । प्रधानमन्त्री कार्कीप्रति अति बफादार भई सेवा र चाकडी गर्न अर्यालले कुनै कसर बाँकी नराखेको भनी सिंहदरबार परिसरमा चर्चा चल्न थालेको छ ।
निर्वाचन आयोगमा एकजना आयुक्त र प्रमुख निर्वाचन आयुक्त पद रिक्त रहेको अवस्थालाई अर्यालले अवसरको रुपमा लिनु भएको बताइएको छ । गत बैशाखमा तात्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अनिवार्य अवकास भएपछि उक्त पद रिक्त रहँदै आएको छ । यसैगरी आयुक्त इला शर्मा पनि ६ वर्षे कार्यकाल पूरा गरेर अवकासमा गएदेखि एक आयुक्त पद अढाई वर्षदेखि रिक्त रहेको बताइएको छ ।
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनको लागि पनि प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्ने सोचमा सरकार रहेको छ । यही अवस्थामा सरकारले प्रमुख आयुक्त र एक आयुक्त सदस्य नियुक्ति गर्ने तयारी गरेको बताइएको छ । अहिले प्रतिनिधिसभा विघटित अवस्थामा रहेकाले संसदीय सुनुवाई बिना नै पदासिन गराउने सोचमा सरकार रहेको बताइएको छ । यसका लागि संवैधानिक परिषदबाट सिफारिस गर्ने र त्यसपछि प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्ने तयारी सरकारले गरिरहेको बताइएको छ ।
अर्यालप्रति प्रधानमन्त्री कार्की पनि सकारात्मक रहेको स्रोतले बताएको छ । नेकपा (एमाले) निकट मानिने अर्याललाई प्रमुख निर्वाचन आयुक्त बनाउँदा एमाले पनि निर्वाचनमा सहजै आउने सोच कार्कीले लिएको स्रोतले बतायो । अर्याललाई विकल्पको रुपमा अमेरिकाको राजदूत बनाउन पनि सकिने भनी कार्कीलाई सल्लाहकारहरुले भन्ने गरेको पनि स्रोतको दाबी छ ।
अर्यालको दौडधूप प्रमुख निर्वाचन आयुक्त बन्न
Facebook Comments Box
