काठमाडौं / २०८२ मंसिर १० गतेदेखि मुख्यसचिवको जिम्मेदारी कसले सम्हाल्ला भनी अहिले चर्चा चल्न थालेको छ । हालका मुख्यसचिव एकनारायण अर्यालले अनिवार्य अवकास पाउने हुनु भएपछि रिक्त हुने मुख्यसचिवमा कसलाई पदस्थापना गरिने हो भनी कर्मचारी प्रशासन वृत्तमा चर्चा चल्न थालेको छ ।
२०७७ माघ २१ मा सचिवमा बढुवा भएकामध्ये सबैभन्दा वरिष्ठ मानिने रक्षासचिव सुमनराज अर्यालको नाम प्रमुख दावेदारको रुपमा चर्चा चल्न थालेको छ । यसैगरी २०७८ असार २४ मा सचिव बन्नु भएका राष्ट्रिय तथ्यांक कार्यालयका मधुसुधन बुर्लाकोटीलाई पनि अर्का दाबेदारका रुपमा हेर्न थालिएको छ ।
श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमा कार्यरत सचिव डा.कृष्णहरि पुष्करले पनि आफूलाई मुख्यसचिवको दाबेदार भनी चर्चामा ल्याउने गर्नु भएको बताइएको छ । २०७८ असार ३१ गते सचिवमा बढुवा हुनु भएका लोक सेवा आयोगका सचिव किरणराज शर्मा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका विशेष सचिव खगेन्द्रप्रसाद नेपाल पनि वरिष्ठताका आधारमा आफूलाई मुख्यसचिवको दाबेदार भन्दै मुख मिठ्याएर बसी रहेको बताइएको छ ।
यसैगरी खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य र २०७८ साउन ३ गते सचिव बढुवा हुनु भएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्तितर्फ कार्यरत सचिव रामप्रसाद घिमिरेको नाम पनि चर्चामा छ । २०७८ भदौ १६ गते सचिव बढुवा हुनु भएका र हाल प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव राजकुमार श्रेष्ठ, २०७८ फागुन ४ गते सचिव बढुवा हुनु भएका र यतिखेर सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा कार्यरत सचिव मुकुन्दप्रसाद निरौलासमेतको नाम चर्चामा रहेको बताइएको छ ।
रक्षा सचिव अर्याल, श्रम सचिव पुष्कर, वाणिज्य सचिव घिमिरे, लोक सेवा आयोगका सचिव शर्मा वरिष्ठ सचिवका रुपमा रहनु भएको प्रशासन स्रोतले जानकारी दिएको छ । उहाँहरुलाई यसअघिका सरकारमा रहेका दलहरु खासगरी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले पेलेर राखेको पनि बताइएको छ । यसैगरी राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत सचिव बुर्लाकोटीलाईसमेत यसअघिका सरकारहरुले राम्रोसँग काम गर्न नदिई खेद्ने काम गर्दै आएकाले उहाँप्रति वर्तमान सरकारले सहानुभूति राख्ने चर्चा पनि चलेको छ ।
जेन–जी आन्दोलनका कारण हालका वरिष्ठ सचिव गोकर्णमणि दुवाडीको नाम मुख्यसचिवका लागि चर्चामै नरहेको पनि बताइएको छ
मुख्य सचिवमा को ?
Facebook Comments Box
